शनिबार, मंसिर ८, २०८१ |Sun Nov, 2024
अक्ल्याण्डको समय: ०५:५९ |सिड्नीको समय: ०३:५९ |काठमाडौंको समय: २२:४४

कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन सम्पन्न

एएनजेड खबरमार्च २, २०२२

काठमाडौं – २४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै कानुन व्यवसायीको सम्मेलन सम्पन्न भएको छ । नेपाल बार एशोसिएसनले यही फागुन १५, १६ र १७ गते आयोजना गरेको सम्मेलनको १५ औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन, २०७८ को आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । कानुन व्यवसायसम्बन्धी विभिन्न विषयमा छलफल गरी आज सम्पन्न भएको हो ।

घोषणापत्रमा न्यायालयको विकृति, विसङ्गति न्यूनीकरण गर्नका लागि न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वले बनाएको प्रतिवेदनको कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । त्यस्तै न्याय सम्पादनमा निष्पक्षता निर्वाह गर्नुपर्ने दायित्व भएका न्यायाधीश र अदालतको अधिकृतको रूपमा सहयोग पु¥याउने कानून व्यवसायीसमेतलाई कुनै मुद्दा विशेषमा निर्वाह गरेको भूमिकाका आधारमा पदक दिनु र पदक लिनु न्यायिक निष्पक्षताको प्रतिकूल र विवादास्पद हुने भएकाले त्यसलाई निरुत्साहित गर्नुपर्ने उल्लेख छ ।


राजनीतिक प्रभावलाई मुख्य आधार बनाई न्यायाधीशहरुको नियुक्ति हुने गरेको गुनासा, नातावाद, कृपावाद, संरक्षणवाद भागबण्डा तथा राजनीतिक प्रभाव अन्त्य गरी न्यायप्रतिको निष्ठा, व्यक्तिगत चरित्र एवं सार्वजनिक प्रतिष्ठालाई ध्यान दिनुपर्ने उल्लेख छ ।
कानुन व्यवसायीको आचरणका सम्बन्धमा उठ्ने गरेको विवादको न्यूनीकरण गर्नका लागि परिषद्ले आचारसंहिताको पालना भए नभएको अनुगमन गर्न प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने उल्लेख छ । सम्मेलनले नवोदित कानून व्यवसायीको दक्षता अभिवृद्धि एवं पेसामा रहेको कानून व्यवसायीको क्षेत्रमा भएका नयाँ विकासका सम्बन्धमा विज्ञता प्रदान गर्न कानुन व्यवसायीको प्रतिष्ठानको प्रबल आवश्यकता औँल्याइएको छ ।

तपाइँको प्रतिक्रिया