शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १९:२६ |सिड्नीको समय: १७:२६ |काठमाडौंको समय: १३:११

अष्ट्रेलिया नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध छ : राजदूत फेलिसिटी भोल्क

एएनजेड खबरजनवरी ४, २०२२

काठमाडौं – नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले कोरोनाले दुई वर्षको चुनौतिपूर्ण समयपछि नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा स्वागत गर्न पाउँदा उत्साहित भएको बताउनुभएको छ ।
“स्टडी इन अष्ट्रेलिया” भन्ने मूल नाराका साथ मङ्गलबार राजधानीमा आयोजना भएको प्रथम अष्ट्रेलियन शैक्षिक मेला २०२२ को उद्घाटन गर्दै उहाँले कोरोनाको कारण बन्द बोर्डर खुला भएपछि पूर्ण रुपमा कोरोना खोप लिएका विद्यार्थीलाई अध्ययनका लागि अष्ट्रेलिया डिसेम्बरदेखि खुला भएको जानकारी दिनुभयो ।
धेरै चुनौतिका बाबजुद अहिलेको समयमा पूर्ण खोप लगाएका र भिसा लिएका योग्य विद्यार्थीहरुलाई अष्ट्रेलियामा प्रवेश गराइदै आएको जानकारी दिंदै उहाँले नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन अष्ट्रेलिया प्रतिवद्घ रहेको दोहोर्‍याउनुभयो ।
नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेजले पुस २० गते मङ्गलबार बिहान १० बजे देखि ५ बजेसम्म काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा शैक्षिक मेला आयोजना गरेको हो ।
शैक्षिक मेलामा अष्ट्रेलियामा विभिन्न विषयमा पढ्न चाहने विद्यार्थीहरुको लागि अस्ट्रेलियाको कलेज र युनिभर्सिटीका साथै शैक्षिक ऋण र बीमा सेवा समेत गरी १५ वटा संस्थाहरुको सहभागिता रहेको थियो  ।
प्रथम अष्ट्रेलियन शैक्षिक मेला यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेका र कक्षा १२ को परीक्षा सकेर बसेका साथै ब्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहेको नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले बताउनुभयो ।
यस वर्षको अष्ट्रेलियन शैक्षिक मेलामा अष्ट्रेलियाबाट कलेज र विश्वविद्यालयहरू, शैक्षिक ऋण प्रदायकको लागि एनएमबी बैंक, आइएलटीएसको लागि आइडीपी आइएलटीएस, शैक्षिक बीमाको लागि एल्लियान्ज पार्टनर्स संस्थाहरुको सहभागिता रहको थियो ।
मेलामा छात्रबृत्ति, पोष्ट स्टडी वर्क (अध्ययन पछि काम) र रिजनल क्याम्पस (क्षेत्रीय क्याम्पस) का बारेमा पनि जानकारी दिइएको थियो । एक सय सहभागीहरूलाई नि:शुल्क आइएल्टीएस वा पीटीइ कक्षाहरू उपलब्ध गराइएको थियो भने र एक भाग्यशाली बिजेतालाई अष्ट्रेलियाको नि:शुल्क हवाई भाडा दिइने आयोजक पक्षले जनाएको छ । कार्यक्रममा सहभागीहरुलाई नेपाल टेलिकमको तर्फबाट सीमकार्ड पनि प्रदान गरिएको थियो ।
मेलामा विद्यार्थीले आफुले अष्ट्रेलियामा जान आवश्यक शैक्षिक परामर्श नि:शुल्क लिएका थिए । थुप्रै  उपहारहरुका साथै छत्रबृत्तिको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन ट्रेड सो नेपाल प्रालि रहेको छ ।

तपाइँको प्रतिक्रिया