शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:३६ |सिड्नीको समय: ०७:३६ |काठमाडौंको समय: ०३:२१

एन्जाले पत्रकारलाई गर्‍यो ५ लाख रुपैया सहयोग, वरिष्ठ उपाध्यक्ष विष्टद्वारा आभार ब्यक्त

एएनजेड खबरअगस्ट १७, २०२१


अष्ट्रेलियामा क्रियाशील नेपाली सञ्चारकर्मीहरुको संस्था अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन (एन्जा) ले कोरोनाबाट प्रभावित नेपालका पत्रकारहरुका लागि ५ लाख रुपैयाँ नगद सहयोग गरेको छ । नेपाल पत्रकार महासंघले पत्रकारहरुका लागि सुरु गरेको कोरोना भाइरस राहत कोषमा एन्जाले ५ लाख नेपाली रुपैयाँ बराबर ५ हजार ७८० अष्ट्रेलियन डलर नेपाल पत्रकार महासंघको खातामा जम्मा गरेको एन्जाका सचिव सरल गुरुङ्गले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


पत्रकार महासंघले लिखित रुपमै सहयोगको अपिल गरेपछि एन्जाले सहयोग संकलन सुरु गरेको थियो । एन्जामा आबद्ध २५ जना पत्रकार सदस्यहरुले २७ सय ५५ डलर सहयोग संकलन गरेका थिए । सो रकममा गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको नेतृत्वमा रहेको अष्ट्रेलिया स्ट्याण्ड टुगेदर नामक राहत संकलन अभियानले समेत ४ हजार डलर थपिदिएको हो ।


कोभिड महामारीका कारण नेपाली पत्रकारहरुले भोग्नुपरेको पिडा र क्षतिप्रति प्रवासमा रहेका पत्रकारहरु उत्तिकै दुःखी रहेको बताउँदै एन्जा अध्यक्ष ऋषि आचार्यले एएनजेडखबरसँग भने ‘नेपालका पेशाकर्मी पत्रकारहरुलाई भइपरि आउने कुनै समस्या होस् वा पेशागत हकहितका सन्दर्भमा होस् हामी हाम्रा सहकर्मी सञ्चारकर्मीहरुका हरेक आयाममा साथमै छाँै, यही साथको निरन्तरताको रुपमा हामीले कोभिड महामारीमा परेका नेपालका पत्रकारहरुका लागि सहयोग अभियानको सुरुवात गरेका थियाँै, र आगामी दिनमा पनि नेपाल र अष्ट्रेलियामा रहेका पत्रकारहरुका लागि एन्जाको साथ सधैँ रहन्छ’ । एन्जाले सहयोग रकम ज्यान गुमाएका पत्रकारका परिवार र उपचार गर्न समस्या परेका संक्रमित पत्रकारको हितमा उपयोग गर्न आग्रह गरिएको एन्जाका महासचिव चिरञ्जीवी देवकोटाले बताए ।

वरिष्ठ उपाध्यक्ष विष्टद्वारा आभार ब्यक्त
अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरुले कोभिड महामारीको प्रत्यक्ष मारमा परेका पत्रकारहरुका लागि आर्थिक सहयोग गरेकोमा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले धन्यवाद ब्यक्त गरेका छन् । नेपालमा कोरोनाका कारण हालसम्म २१ जना पत्रकारले ज्यान गुमाएको तथा १ हजारभन्दा बढी पत्रकार कोरोना संक्रमित भएको जानकारी दिँदै एएनजेडखबरसँगको टेलिफोन वार्तामा विष्टले भने,‘ कोभिड पिडित नेपाली पत्रकारहरुका लागि अष्ट्रेलियालाई कर्मभूमि बनाउँदै आएका नेपाली पत्रकारहरुले जुन सहयोग गरेका छन्, त्यसप्रति म ब्यक्तिगत तर्फबाट र संस्थागत तर्फबाट हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । हामी अहिले संकलन भएको रकमलाई उचित वितरण गर्ने ठोस कार्यविधि तयार गर्दैछौँ । सो कार्यविधि तयार भएपछि प्रभावित पत्रकार तथा मृतक पत्रकारको परिवारसम्म चाँडै लैजानेछाँै ।’

तपाइँको प्रतिक्रिया