सरकारप्रति असन्तुष्ट गगन थापा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा गएनन्
काठमाडौँ । सत्ताधारी दलहरू नेपालीकांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बुधबार राति बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकार सञ्चालनका विषयमा छलफल भएको छ ।
पछिल्लो समय दुई दलका नेताहरूबीच आरोप प्रत्यारोप चलिरहँदा उक्त शंका मेटाउन बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी भए ।
त्यस्तै कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजू राणा देउवाको सहभागीता रह्यो । बैठकमा संयन्त्रका सदस्य एवं कांग्रेस महामन्त्री गगनकुमार थापा भने उपस्थित भएनन् ।
थापा उपत्यका बाहिरबाट आउँदा ढिलाई भएको बुझिएको छ । यद्यपि महामन्त्री थापाले नै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको आलोचना गर्दै आएका छन् ।
उनले मंगलबारमात्रै बिचौलीहरुको पहुँच प्रधानमन्त्री ओलीको विस्तारासम्म रहने गरेको आरोप लगाएका थिए । उनको पछिल्लो अभिव्यक्तिले गर्दा सरकारमा रडाको मच्चिएको भए पनि उनले बुधबारकै एक कार्यक्रममा यो सरकार २०८४ को चुनावसम्म टिक्ने बताएर मंगलबारको आक्रोशलाई शान्त पार्ने प्रयास गरेका छन् ।
कांग्रेस–एमालेबीच सरकार सञ्चालनका विषयमा सार्वजनिक रुपमा मतभेद देखिन थालेपछि लामो समयको अन्तरपछि ओलीले दुई दलीय संयन्त्रको बैठक बोलाएका हुन् ।
यो बैठकमा सरकारको निरन्तर आलोचना गरिरहेका गगन थापा उपस्थित नहुनुलाई भने विभिन्न अड्कलको दृष्टिले हेर्न जालिएको छ ।
तपाइँको प्रतिक्रिया