थाइल्यान्ड भ्रमण सार्थक, थाइल्यान्डका प्रधानमन्त्रीलाई नेपालको निम्तो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) छैटौँ शिखर सम्मेलनमा सहभागिता अत्यन्त सफल एवम् सार्थक भएको बताएका छन् ।
थाइल्यान्डको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो भ्रमणबाट दुई मुलुकबिच रहिआएको द्विपक्षीय सम्बन्धले थप उचाइ हासिल गरेको बताए ।
प्रधानमन्त्री ओलीले थाइ समकक्षी पे थोङ् थान् शिनावातसँगको भेटमा दुई देशबिच व्यापार तथा लगानी, कृषि, पर्यटन तथा संस्कृति, शिक्षा तथा मानव संशाधन विकासलगायत आपसी हितका क्षेत्रीय एवं बहुपक्षीय मामिलामा सहयोग र सहकार्य गर्ने विषयमा फलदायी कुराकानी भएको जानकारी दिए ।
उनले बौद्ध धर्म एवम् दर्शनले जोडेको सांस्कृतिक सम्बन्ध एवम् छ दशकभन्दा लामो द्विपक्षीय घनिष्ठ कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने र यसको जगमा उभिएर दुई देशबिचको आर्थिक सम्बन्धलाई पनि समयानुकुल फराकिलो र गहिरो बनाउँदै दुई देशबिच सहमति भएको बताए ।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिमा नेपाललाई थाइल्यान्ड सरकारको सक्दो सहयोग रहने प्रतिबद्धता प्राप्त भएको जानकारी दिए । उनले कृषि, पर्यटन, पूर्वाधार विकास, सूचना प्रविधिलगायत क्षेत्रमा सहयोग गर्न थाइल्यान्ड सरकार तयार रहेको जानकारी दिए ।
भ्रमणका अवसरमा नेपाल सरकार र थाइल्यान्ड सरकारबिच आपसी सहयोग आदानप्रदान गर्ने सन्दर्भमा पर्यटन क्षेत्रमा सहयोग र सांस्कृतिक सहयोगसम्बन्धी सम्झौता एवम् निजी क्षेत्रसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आफूले थाइल्यान्डका प्रधानमन्त्री शिनावात्रालाई नेपाल भ्रमणको निम्ता दिएको जानकारी दिँदै उनबाट चाँडै नै नेपालको भ्रमण हुने अपेक्षा राखेको बताए ।
प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै बङ्गालको खाडी र विश्वभर सघन परिवर्तन आएको र आर्थिक असमानता, बढ्दो वातावरणीय जोखिम, राजनीतिक अनिश्चितता जस्ता साझा वैश्विक चुनौतीको सामना गर्न क्षेत्रीय सहकार्यलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएको बताए ।
प्रधानमन्त्री ओलीले वातावरणीय एवं अन्य क्षेत्रीय, अन्तर्राष्ट्रिय चुनौतीबारे छलफल गर्न नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागिताका लागि बिमस्टेक राष्ट्रका समकक्षीलाई पुनः आमन्त्रण गरेको जानकारी दिए ।
तपाइँको प्रतिक्रिया