बुधबार, चैत १९, २०८१ |Wed Apr, 2025
अक्ल्याण्डको समय: २१:११ |सिड्नीको समय: १९:११ |काठमाडौंको समय: १३:५६

राजतन्त्र फर्किनुपर्छ भन्नु भोक लाग्यो भनेर विष खानुजस्तै होः डा. बाबुराम भट्टराई

एएनजेड खबरमार्च ३१, २०२५

काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक प्रणालीभित्र केही नेताहरुले गलत गरे भन्दैमा राजतन्त्र चाहियो भन्नु भोक लागेर विष पान गरे बराबर हुने बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको विकल्पमा निरङ्कुशवादी शक्ति र राजतन्त्रवादी शक्तिहरुहरु आउन नसक्ने बताएका हुन् । अहिले लोकतन्त्रको विरुद्धमा भइरहेको गतिविधिबारे सजग हुनुपर्ने उनले बताए ।

‘लोकतान्त्रिक प्रणालीभित्र काम गरिराखेका नेताहरुले कमजोरी, गल्ती गरे भनेर लोकतन्त्रका विरोधीहरु, निरङ्कुशवादी शक्तिहरु, राजतन्त्रवादी शक्तिहरु आउनुपर्छ भनेर बुझ्नु भोक लाग्यो भनेर विष पान गर्नुजस्तै हुन्छ । त्यो बुद्धिमानी हुँदैन । अहिले जुन ढङ्गको परिस्थिति निर्माण हुँदैछ, त्यसमा हामी शर्तक बनौं,’– उनले भने ।

संविधान जारी हुँदाको बेलामा आफूले थुप्रै विमति राखेको बताउँदै उनले अब यसलाई संशोधन गरेर जानुपर्ने बताए । मिश्रित प्रकारको संसदीय व्यवस्था कायम गरेर जाँदा अहिले समस्या आएको उनको दाबी छ । डा.भट्टराईले अबको विकल्प जनताबाट निर्वाचित प्रत्यक्षकार्यकारी राष्ट्रपति, मुख्यमन्त्री र संघ र प्रदेशमा पूर्ण समानुपातिक संसदीय व्यवस्था हुनुपर्ने बताए ।

‘मुलुकमा हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक सांसद् केन्द्रमा, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र पूर्ण समानुपातिक प्रदेश सभा प्रदेशमा गर्यौं भनेमात्रै देशमा स्थिरता आउँछ, समावेशी सहभागिता हुन्छ र देशमा सुशासन दिन्छ, दीगो समृद्धि ल्याउँछ,’– डा.भट्टराईले भने ।

नदीको प्रवाह कहिले पनि पछाडि नफर्किएजस्तै एक पटक विधिवत रुपमा विदा भइसकेको राजतन्त्र पुनस्र्थापना हुन नसक्ने उनको दाबी छ । ‘नदीको प्रवाह अगाडि बढ्द छ । पछाडि फर्किँदैन । कहिलेकाहीँ ठूलो पहिरो आएर रोकिन सक्छ । त्यस्तो बेला नदीको प्रवाह रोकिएजस्तो लाग्छ । तर, फेरि नदी त्यसलाई छिचोलेर अगाडि बढ्छ । यो लोकतन्त्रको प्रवाह पनि पछाडि हट्दैन,’– उनले भने ।

अब राजतन्त्र फर्काउने कुरा दिवास्वप्नमात्रै रहेको उनले बताए । ‘राजधानीको बीचमा जुन वितण्डा देखियो । जनताले लामो संघर्ष गरेर, थुप्रै रगत र पसिना बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउँछु भन्ने दिवास्वप्न देखेर राजधानीको मुटुमा नै हिंसा, हत्या, आगजनी गर्ने प्रयत्न गरियो । त्यसले नयाँ पुस्तालाई हाम्रो पुस्ताले कस्तो आतङ्क व्यहोरेर आएको रहेछ भन्ने सानो ट्रेलर देख्नुभयो । नेपालको बृहत नेपाली शब्दकोशमा मण्डले भन्ने एउटा शब्द छ । त्यस शब्दको अर्थ त हुलहुज्जत गर्ने, हुल्याहा । त्यसलाई मण्डले भनिन्छ । त्यसको शब्दको उत्पति नै राजाको पालामा, निरङ्कुश शासन कालमा राष्ट्रवादी विद्यार्थी मण्डल भन्ने संस्था थियो । त्यसले यस्तो गुण्डागर्दी गथ्र्यो । त्यो शब्द शब्दकोशमा अहिले पनि छ,’– उनले भने ।

तपाइँको प्रतिक्रिया