बुधबार, चैत १९, २०८१ |Wed Apr, 2025
अक्ल्याण्डको समय: २१:०९ |सिड्नीको समय: १९:०९ |काठमाडौंको समय: १३:५४

जनसम्पर्क समितिमा नयाँ व्यवस्था : एनआरएनए नागरिकता लिएकालाई सदस्यतामा बाधा नपर्ने

एएनजेड खबरमार्च २४, २०२५

काठमाडौँ । नेपाली कांग्रेसको विदेशस्थित जनसम्पर्क समितिमा दुई किसिमका सदस्यता हुने भएको छ । आइतबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले विदेशस्थित जनसम्पर्क समितिमा ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता’ र ‘जनसम्पर्क समितिको सदस्यता’ हुने निर्णय गरेको हो ।

जसअनुसार नेपाली जनसम्पर्क समितिको अध्यक्ष, पदाधिकारी वा सदस्य जनसम्पर्क समितिको विधानमा व्यवस्था भए बमोजिम कांग्रेसको क्रियाशील सदस्य वा जनसम्पर्क समितिको सदस्यता प्राप्त गरेको सदस्यमध्येबाट चयन हुनसक्ने निर्णयमा उल्लेख छ । जनसम्पर्क समितिको सदस्यता प्राप्त गर्न गैर आवासीय नेपाली परिचयपत्र वा गैर आवासीय नेपाली (एनआरएनए)नागरिकता प्राप्त गरेका व्यक्ति समेतलाई वाधा नपुग्ने कांग्रेसको निर्णयमा उल्लेख छ ।

यस्तै पार्टीको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित हुनका लागि कांग्रेसको क्रियाशील सदस्य हुन अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ भने जनसम्पर्क समितिको अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुने व्यवस्था हटाइएको कांग्रेसद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘यो व्यवस्था लागु हुनु पूर्व क्रियाशील सदस्यता प्राप्त गरेका विदेशी नागरिकहरुको हकमा निजहरुले प्राप्त गरेको क्रियाशील सदस्यता जनसम्पर्क समितिको सदस्यतामा रुपान्तरित हुनेछ । साथै, निजले प्राप्त गरेको साविकको क्रियाशील सदस्यतालाई सोही अवधिदेखि पार्टीमा संलग्नताको निरन्तरतामा समेत गणना गरिनेछ’, निर्णयमा भनिएको छ ।

यस्तै, विदेशस्थित जनसम्पर्क समितिले केन्द्रीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पठाउने बारे पनि आवश्यक निर्णय गरेको छ । जसअनुसार कम्तिमा एक सय कांग्रेसको क्रियाशील सदस्य रहेका जनसम्पर्क समितिको अधिवेशनबाट निर्वाचित केन्द्रीय महासमिति सदस्य एक जना हुनेछन् । यस्तै पाँच सय वा सो भन्दा बढी क्रियाशील सदस्य रहेका जनसम्पर्क समितिबाट सात जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट तीन जना केन्द्रीय महासमिति सदस्य हुनेछन् ।

यस्तै दुई हजार वा सो भन्दा बढी नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका जनसम्पर्क समितिबाट चौध जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट छ जना केन्द्रीय महासमिति सदस्य हुने व्यवस्था गरिएको छ ।

यस्तै पार्टी केन्द्रीय कार्यसमितिले विदेशस्थित जनसम्पर्क समितिबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि संख्या तोक्दा एउटा देशबाट बढीमा चौध जना र केन्द्रीय महासमिति सदस्य तोक्दा छ जना भन्दा बढी नतोक्ने व्यवस्था गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको श्रावण २३ देखि भाद्र १६ गतेसम्म संचालन भई बैठकबाट निर्णय भएको निर्णय नं. ४ विदेशस्थित जनसम्पर्क समितिको सम्बन्धमा विधानको धारा १४ (४), (५) र (६) लाई निलम्वन गर्ने निर्णयले केही दुविधा सृजना हुन आइरहेको सन्दर्भमा उक्त दुविधालाई स्पष्ट पार्न वाञ्छनीय भएकोले आज मिति २०८१ चैत्र १० गतेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय बमोजिम देहाय अनुसार हुने व्यवस्था विधानको धारा ५० (५) को अधिकार प्रयोग गरी आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने निर्णय गरिएको छ ।

१.⁠ ⁠सदस्यता:विदेशस्थित जनसम्पर्क समितिमा २ किसिमका सदस्य हुनेछन:

१.⁠ ⁠नेपाली कांग्रेसको क्रियाशील सदस्यता

२.⁠ ⁠जनसम्पर्क समितिको सदस्यता

२. नेपाली जनसम्पर्क समितिको अध्यक्ष, पदाधिकारी वा सदस्य नेपाली जनसम्पर्क समितिको विधानमा व्यवस्था भए बमोजिम नेपाली कांग्रेस क्रियाशील सदस्य वा जनसम्पर्क समितिको सदस्यता प्राप्त गरेको सदस्यमध्येबाट चयन हुन सक्नेछ।

२.⁠ ⁠(क) माथि उल्लेख गरे अनुसार जनसम्पर्क समितिको सदस्यता प्राप्त गर्न गैर आवासीय नेपाली  परिचयपत्र वा गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्ति समेतलाई वाधा पुग्ने छैन।

३. पार्टीको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित हुनका लागि नेपाली कांग्रेसको क्रियाशील सदस्य हुन अनिवार्य हुनेछ।

४. जनसम्पर्क समितिको अध्यक्ष स्वतःमहाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुने व्यवस्था हटाइएको छ।

५. यो व्यवस्था लागु हुनु पूर्व क्रियाशील सदस्यता प्राप्त गरेका विदेशी नागरिकहरुको हकमा निजहरुले प्राप्त गरेको क्रियाशील सदस्यता जनसम्पर्क समितिको सदस्यतामा रुपान्तरित हुनेछ। साथै, निजले प्राप्त गरेको साविकको क्रियाशील सदस्यतालाई सोही अवधिदेखि पार्टीमा संलग्नताको निरन्तरतामा समेत गणना गरिनेछ।

६. विदेशस्थित नेपाली जनसम्पर्क समितिले अधिवेशनबाट निर्वाचित गरी नेपाली कांग्रेसका क्रियाशील सदस्यमध्ये देहाय बमोजिमको संख्यामा केन्द्रीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पठाउने छन्।

(क) कम्तिमा एक सय नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका जनसम्पर्क समितिको अधिवेशनबाट निर्वाचित केन्द्रीय महासमिति सदस्य एक जना हुनेछन् ।

(ख) पाँच सय वा सो भन्दा बढी नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका जनसम्पर्क समितिबाट सात जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट तीन जना केन्द्रीय महासमिति सदस्य हुनेछन ।

(ग) दुई हजार वा सो भन्दा बढी नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका जनसम्पर्क समितिबाट चौध जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट छ जना केन्द्रीय महासमिति सदस्य हुनेछन ।

पार्टी केन्द्रीय कार्यसमितिले विदेशस्थित जनसम्पर्क समितिबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि संख्या तोक्दा एउटा देशबाट बढीमा चौध जना र केन्द्रीय महासमिति सदस्य तोक्दा छ जना भन्दा बढी तोक्न सक्नेछैन।

तपाइँको प्रतिक्रिया