शुक्रबार, फागुन ३०, २०८१ |Fri Mar, 2025
अक्ल्याण्डको समय: ०१:३४ |सिड्नीको समय: २३:३४ |काठमाडौंको समय: १८:१९

एनआरएनएको सदस्य बन्ने मिति थपियो

एएनजेड खबरफ्रेब्रवरी १९, २०२५

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले संघको सदस्य बन्ने मिति थप गरेको छ।

उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिको नवौं बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका महत्वपूर्ण विषयहरूमा छलफल गरेको थियो । बैठकले सदस्यता दर्ता प्रक्रिया थप व्यवस्थित बनाउनका लागि नयाँ समयसीमा तोकेको छ । अब गैर आवासीय नेपालीहरूले ३१ मार्च २०२५ सम्म सदस्यता दर्ता गर्न सक्नेछन् । https://nrnahlc.com/ मा गएर सदस्यताको लागि आवेदन दिन सकिनेछ।

बैठकले महाधिवेशनका लागि आइसीसी (इन्टरनेशनल कोर्डिनेशन काउन्सिल)ले लिने सदस्यता दर्ता शुल्क नलिने निर्णय गरिएको छ । तर, राष्ट्रिय समन्वय परिषद्हरू ९एनसीसी० लाई आफ्नो देशको कानुनी व्यवस्थाअनुसार शुल्क तोक्न सक्ने अधिकार दिइएको छ ।

त्यसैगरी बैठकले आगामी निर्वाचन प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउने उद्देश्यले प्रमुख निर्वाचन आयुक्त र अन्य निर्वाचन आयुक्तहरूको नियुक्ति गर्ने निर्णय गरेको छ । राष्ट्रिय समन्वय समितिको निर्वाचन १५ अप्रिल २०२५ भित्र सम्पन्न गर्ने समय सिमा पनि तोकिएको छ ।

तोकिएको समयसीमा भित्र निर्वाचन सम्पन्न गर्न नसके उच्चस्तरीय समितिसँग सम्झौता गरी महाधिवेशनको लागि नयाँ मिति निर्धारण गर्न सक्ने अधिकार पनि दिइएको छ ।

बैठकले आगामी मे ३–५ तारिखमा काठमाडौँमा आयोजना हुने महाधिवेशनलाई भव्य बनाउनका लागि प्रमुख अतिथि तथा अन्य विशिष्ट अतिथिहरूलाई निमन्त्रणा गर्ने प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । यसैगरी मूल आयोजक समितिको बैठक तुरुन्तै आयोजना गर्ने निर्णय गरिएको पनि जनाइएको छ ।

तपाइँको प्रतिक्रिया