सतलोक आश्रममा सात नव जोडीको दाइजोरहित सामूहिक विवाह

काठमाडौं । धनुषाको मिथिला नगरपालिका २, बेलाचापीस्थित सतलोक आश्रममा सात नव जोडीहरुको दाइजोरहित सामूहिक विवाह गराइएको छ । समाजलाई दाइजोमुक्त बनाउने अभियान अन्तर्गत यस्तो विवाह गराइएको हो।
सन्त रामपालजी महाराजको ३८औँ बोध दिवसको सन्दर्भ पारेर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । सन्त रामपालजी महाराजको सान्निध्यमा सन्त गरिबदासजी महाराजद्वारा रचित अमरग्रन्थ साहेबको अखण्ड पाठ जारी राख्दै सात नव जोडिहरुको दाइजो तथा आडम्बरमुक्त विवाह गराइएको रामपालजीका अनुयायी ओमराज ढकालले जानकारी दिए ।
‘विवाहमा कुनै प्रकारको सरसामान तथा नगद लेनदेन भएको छैन । बेहुला वा बेहुली दुवैपक्षको कुनै पनि खर्च भएन । आगन्तुकहरुलाई खाने तथा बस्ने व्यवस्था आश्रमकै तर्फबाट विशाल भण्डारामा गरियो । १७ मिनेटको गुरुवाणीद्वारा तेत्तीस करोड देवीदेवताहरुको स्तुति गरी आफ्नो गुरुदेवजीको आशीर्वाद लिएर लाखौं श्रद्धालुहरु सामु उक्त विवाह सम्पन्न एको हो,’ ढकालले भने ।
विवाहमा तथा आश्रममा मांसाहार तथा नशालु पदार्थ सेवन गर्न पूर्ण रुपमा निषेधित गर्दै समाजबाट दाइजोरूपी कुप्रथालाई समाप्त पार्न सन्त रामपालजी महाराजका अनुयायीहरुद्वारा यस्तो विवाह गराइएको ढकालले जानकारी दिए ।
सो अवसरमा अनुयायीहरुले नेपाल रेडक्रस सोसाइटीलाई ६० युनिट रक्तदान पनि गरेका छन् । यसअघि फाल्गुनको ३ देखि ५ गतेसम्म तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा कार्यक्रम गरिएको थियो । रामपालजी महाराजको बोध दिवस हरेक वर्ष मनाउने यस्ता रचनात्मक कार्यक्रमहरु आयोजना गरिने उनले बताए ।
कार्यक्रममा पूर्वसंघीय सांसद रामचन्द्र झा, पूर्वमन्त्री मातृका प्रसाद यादव तथा अन्य विशिष्ट व्यक्तिहरु सहभागि थिए ।
सन्त रामपालजीको बोध दिवस भनेर उनले आफ्ना आध्यात्मिक गुरु स्वामी रामदेवानन्दजी महाराजबाट मन्त्र दीक्षा लिएको दिनलाई मानिदै आएको छ । उनले १७ फेब्रुअरी १९८८ मा मन्त्रदीक्षा प्राप्त गरेका थिए । त्यसैले प्रत्येक वर्ष यस दिनलाई सन्त रामपालजी महाराजको बोध दिवसको रूपमा मनाउने प्रचलन छ ।
आश्रमको अगुवाइमा हुने विशाल भण्डारामा शुद्ध घ्युबाट तयार गरिएको लड्डु, जेरी, बर्फी तथा हलुवा प्रसादका साथै रोटी, पूरी, तरकारी, आदि परिकारहरुको व्यवस्था गर्ने गरिन्छ । भण्डारामा सबैलाई निशुल्क भोजन गराइने आयोजकको तयारी छ ।

तपाइँको प्रतिक्रिया