आइतबार, माघ २०, २०८१ |Sun Feb, 2025
अक्ल्याण्डको समय: २१:४९ |सिड्नीको समय: १९:४९ |काठमाडौंको समय: १४:३४

बाणिज्यदूत संजिव शर्मालाई नेपाल र अष्ट्रेलिया व्यापार सहजिकरणको जिम्मेवारी

एएनजेड खबरफ्रेब्रवरी १, २०२५

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अस्ट्रेलियाको न्यु साउथवेल्स राज्यका वाणिज्य दूत समेत रहेका एक्सपर्ट ग्रुपका सन्जिव शर्मालाई व्यापार सहजिकरणका लागि प्रतिनिधि चयन गरेको छ ।

चेम्बर अफ कमर्स सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले एनआरएन आईसीसी अनररी काउन्सिल सदस्य एवं व्यवसायी संजिव शर्मालाई चेम्बर अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । ​

अष्ट्रेलियामा आयोजित विशेष कार्यक्रममा सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठले अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र सहित आगामी कार्यकालका लागि बधाई एवं शुभकामना दिए ।

नेपाल र अष्ट्रेलियाबीच व्यापार प्रर्वद्धन, पर्यटन एवं लगानीबारे सहकार्य गर्न शर्मालाई अनररी रिप्रेजेन्टेटिभ्सका रुपमा चयन गरिएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । ​

अष्ट्रेलिया नेपालीहरुको बसोबास उल्लेख्य रहेको र व्यापारिक दृष्टिकोणले पनि महत्व राख्ने भएकाले व्यापार सहजीकरणका लागि प्रतिनिधि चयन गरिएको सल्लाहकार परिषदका अध्यक्ष श्रेष्ठले बताए ।

उनले भने, ‘नेपालबाट अष्ट्रेलियामा निर्यातको राम्रो सम्भावना देखिएको छ, चालु आर्थिक वर्षमा मात्रै ८४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ, घरेलु तथा हस्तकलाका सामाग्री, कार्पेट, पास्ता लगायतका सामाग्री निर्यातका लागि अष्ट्रेलिया राम्रो बजार छ ।’

यस्तै अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई स्वदेशमा लगानी भित्र्याउन पनि सल्लाहकार परिषदका अध्यक्ष श्रेष्ठले आग्रह गरे । चेम्बरका अनररी रिप्रेजेन्टेटिभ्स शर्माले नेपालमा लगानी भित्र्याउन एवं व्यापार सहजीकरणका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाए ।

नेपालमा व्यापार सहजीकरण मार्फत निर्यात प्रर्वद्धन गर्न आफले पहल गर्ने शर्माले बताए । नेपाल चेम्बरले विभिन्न मुलुकमा व्यापार सहजीकरण, एवं निर्यात प्रर्वद्धनका लागि प्रतिनिधि चयन गर्दै आएको छ ।

करिब अढाइ दशक अघि दाङको घोराहीबाट उच्च शिक्षा अध्ययनका लागि सिड्नी पुगेका शर्मा शैक्षिक व्यवसायमार्फत आफ्नो साम्राज्य विस्तार गर्दै आइरहेका छन् । सन् २००३ मा स्थापना भएको एक्सपर्ट एजुकेशन अहिले १४ वटा देशमा ४० बढी उपशाखाहरुमा विस्तार भइसकेको छ ।

शैक्षिक उद्योग र नेपालको जलस्रोतमा लगानी गरिसकेको उक्त एक्सपर्ट समूहले नेपालको रारा क्षेत्रमा पाँचतारे होटल निर्माण गर्ने तयारी गरिरहेको छ । नेप्लीज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज)मार्फत सामाजिक सेवामा समेत क्रियाशील शर्मालाई महत्वपूर्ण जिम्मेवारी मिलेको हो । अष्ट्रेलियामा स्थापित व्यवसायी शर्मालगायतको समूहले एक्सर्पटलाई भारत, चीन, नेपाल, बंगलादेश, हङकङ, मंगोलिया, श्रीलंका, म्यानमार, भियतनाम र अफ्रिकालगायतका देशहरुमा विस्तार गरिसकेका छन् ।

अस्ट्रेलियाको न्यु साउथवेल्स राज्यका वाणिज्य दूत समेत रहेका शर्माले दुई देशको सम्बन्ध र वाणिज्य विस्तारमा वाणिज्यदूतका रुपमा प्रमुख भूमिका निर्वाह गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया