अष्ट्रेलिया, अमेरिका र युरोप पठाइदिन्छु भन्दै ठगी : १९ करोड ३९ लाख बढी रकम ठगी
काठमाडौं । पाँच महिनामा वैदेशिक रोजगारीका क्रममा १९ करोड ३९ लाख ८६ हजार रुपैंयाँ भन्दा बढीको ठगी भएको वैदेशिक रोजगार विभागले जनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा परेको उजुरीका आधारको यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।
यस अवधिमा चार हजार ८८ वटा ठगीका उजुरी दर्ता भएका छन् र तिनबाट माथि उल्लेख भएको क्षतिपूर्ति असुल भएको छ । ठगीमा पर्ने अधिकांश व्यक्ति घरगाउँकै दाजुभाइ, दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिएका छन् ।
विभागका महानिर्देशक सूर्यबहादुर खत्रीका अनुसार विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै छ । उनका अनुसार वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको भनेर आउने उजुरी सबैभन्दा बढी व्यक्तिगततर्फका रहेको र रकम पनि व्यक्तिगतकै बढी हुने गरेको छ ।
महानिर्देशक खत्रीले उजुरी हेर्दा पछिल्लो पटक व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखेकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठुलो परिणामको हुने गरेको बताए ।
विभागमा खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानाडा, पोर्चुगल, पोल्यान्ड जस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठुलो छ ।
तपाइँको प्रतिक्रिया