शनिबार, पुष ६, २०८१ |Sun Dec, 2024
अक्ल्याण्डको समय: ०४:३९ |सिड्नीको समय: ०२:३९ |काठमाडौंको समय: २१:२४

अष्ट्रेलियाका नेपालीले नेपालको नयाँ शिक्षा विधेयकमा चासो राख्नुपर्छ – शिक्षाविद केसी

एएनजेड खबरडिसेम्बर २०, २०२४

नेपालको संसदमा प्रस्तुत हुन लागेको नयाँ शिक्षा विधेयकमा अष्ट्रेलिया लगायत विश्वका सबै कुनामा बस्ने सचेत नेपालीले चासो लिनुपर्ने शिक्षाविद हरीसिंह केसीले बताएका छन् । नेपालमा अहिले बहसको चरणमा रहेका संघीय शिक्षा विधेयक, उच्च शिक्षा सम्बन्धी विधेयक र सीपमुलक शिक्षा विधेयकमा विश्वभरि छरिएर रहेका नेपालीले सक्रीय चासो राख्नुपर्ने र उचित राय दिनुपर्ने विचार पनि शिक्षाविद् केसीले व्यक्त गरेका छन्।
अष्ट्रेलियामा रहेका नेपाली सचेत वर्गभित्र पर्ने र यहाँको शिक्षा क्षेत्रलाई पनि नजिकबाट नियाल्न पाएका हुनाले उनीहरूको सिकाइ र अनुभवबाट नेपाललाई लाभ मिल्ने पनि केसीले बताएका छन्।
“नेपालको समग्र शिक्षाप्रणालीलाई नै निर्देशित गर्ने शिक्षा विधेयक संसदमा प्रस्तुत हुनुअघि सरकारले सम्पूर्ण सरोकारवालाहरूसँग छलफल गर्नुपर्छ” केसी भन्छन्।
अहिलेसम्म नेपालको शिक्षा मुख्यरूपमा बिसं २०२८ को शिक्षासम्बन्धी ऐनबाट चलेको भए पनि अब प्रस्तुत हुने विधेयकले नेपाललाई शैक्षिक गन्तव्य र शिक्षाको केन्द्र बनाउन पहल गर्नुपर्ने उनले बताएका छन्। घरेलु विद्यार्थीलाई सुलभ रूपमा शैक्षिक कर्जा मिल्नुपर्ने र नेपाल अध्ययन गर्न आउने विदेशी विद्यार्थीलाई छुट्टै विद्यार्थी भिसाको व्यवस्था हुनुपर्ने केसी बताउँछन्।
अहिलेसम्म नेपालमा पढ्न आउने विदेशी विद्याथी पर्यटक भिसामा आएर पढ्ने गरेकोमा यस्तो व्यवस्था अन्त्य हुनुपर्ने उनी बताउँछन्।
शिक्षालाई उद्यम, रोजगारी र अनुसन्धानसँग जोडिनुपर्ने मात्र नभई जीवनउपयोगी र प्रयोगात्मक समेत बनाउनुपर्ने र त्यसका लागि नयाँ शिक्षा विधेयकमा ठोस व्यवस्था हुनुपर्ने केसी बताउँछन्। त्यसका लागि राजनीतिक नेतृत्वको चासो र दह्रो प्रतिबद्धता चाहिने पनि केसीको ठम्याइ छ। यस्तो हुन नसके अहिले रहेको ब्रेन ड्रेनको समस्या नरोकिने केसी ठान्छन्।
अहिले नेपालको उच्च शिक्षा समस्याग्रस्त मात्र नभएर संकटग्रस्त अवस्थामै रहेको भन्न मिल्ने पनि केसी बताउँछन्। कतिपय आंगिक, सामुदायिक र संस्थागत क्याम्पसमा एक सय भन्दा कम विद्यार्थी भएको र तिनीहरूलाई विश्वविद्यालय अनुदान आयोगले एकअर्कामा गाभिन सल्लाह दिने गरेको केसी बताउँछन्।
नेपालको शिक्षा क्षेत्रको विकासक्रममा गहिरो रूचि राख्ने केसी काठमाडौंमा अवस्थित साउथवेस्टर्न स्टेट कलेजमा सहायक प्रिन्सिपल पनि हुन्।

तपाइँको प्रतिक्रिया