एनआरएनए मुख्यालयको तालाचाबी बोकेर केसी पक्ष सम्पर्कवीहिन, जेठमा एकताको महाधिवेशन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको बैठक बस्ने दिन मंगलबार बद्री केसी समूहले कार्यालय बन्द गरेको छ । बैठक बस्ने समयमा बालुवाटार एनआरएनएको मुख्यालय बन्द रहेको र प्रहरीले पहरा दिइरहेको थियो ।
केसी पक्षले पूर्वअध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा आउने जानकारी पाएपछि सबै कर्मचारीलाई बिदा दिएको बुझिएको छ । मंगलबार उच्चस्तरीय समितिको बैठक हुने दिन कार्यालय बन्द गरेर केसी पक्ष रणनीतिक बैठकमा जुटेको बताइएको छ । डा.केसीलाई सम्पर्क गर्दा मोबाइलको स्वीज अफ गरेका थिए भने सिइयो राजेन्द्रकुमार राउतले फोन उठाएनन् ।
घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा पुग्दा कार्यालय बन्द रहेको पाइएको समितिका सदस्य विनोद कुँवरले जानकारी दिए । ‘कार्यालय बन्द छ, हामीलाई सर्वोच्चको फैसलाअनुसार एकताको महाधिवेशन गराउने जिम्मेवारी दिइएको हो । तर, बैठकको मिति तय भइसकेको अवस्थामा कार्यालय बन्द हुनु निन्दनीय हो’, उनले भने । उनका अनुसार आफूहरु कार्यालयमा आइसकेको भएपनि सम्पर्क गर्दा केसीसहित कसैसँग पनि सम्पर्क हुन सकेको छैन ।
केसी पनि समितिको सदस्य छन् । ३ बजे बैठक बस्ने तय भएको थियो तर घलेलगायतका समितिका सदस्यहरु कार्यालय खुला नभएकाले बाहिरकै हलमा केही समय बसेर नजिकैको एक रेष्टुरेन्टतर्फ लागेका थिए ।
केसी पक्ष भने कार्यालय बन्द गरेर बूढानीलकण्ठको एक रिसोर्टमा बैठक गरिरहेको स्रोतले जनाएको छ । घलेलाई असहयोग गर्ने नीतिअनुसार नै एकाएक बनावटी कार्यक्रम बनाएर बूढानीलकण्ठमा रिसोर्टमा कार्यक्रम गरेको समितिका सदस्यहरुले आरोप लगाएका छन् ।
झण्डै तीन वर्षयता जारी एनआरएनएको विवादमा सर्वोच्च अदालतले गत चैत २१ मा घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउन आदेश दिएको थियो । परराष्ट्र मन्त्रालयको पत्रअनुसार एकताको महाधिवेशन गराउन पहिलो बैठक राख्दा कार्यालय नै बन्द भएको सदस्यहरुको भनाइ छ। हाल एनआरएनएमा केसी पक्ष, बिनोद कुँवर पक्ष र आरके शर्मा पक्ष गरी तीन समूह सक्रिय छन् ।
समितिकी सदस्य रविना थापाले ८० लाख गैरआवासीय नेपालीको साझा भवन बन्द गरिनु गलत भएको बताइन् । यस्तै समितिका सदस्य कुल आचार्यले यो दुखद भएको जनाउँदै यस्ता गतिविधि गर्न बन्द गर्न सबैलाई चेतावनी दिए । यस्तै समितिकी सदस्य जानकी गुरुङले सबैको आस्था जोडिएको कार्यालय बन्द गरेर केसी पक्ष भाग्नु दुखद भएको जनाउदै निजी कम्पनी जसरी संस्था चलाइएकोप्रति समग्र गैर आवासीय नेपालीहरु दुखित भएको बताइन ।
तथापी, विवाद मिलाउन सर्वोच्च अदालतको आदेशअनुसार गठन भएको उच्चस्तरीय समितिको पहिलो बैठक मंगलबार बसेको छ । बालुवाटारस्थित कार्यालयमा तय भएपनि केसी पक्षले कर्मचारीलाई बिदा दिएर चाबी लिएर सम्पर्क बिच्छेद भएपछि बालुवाटारकै नेपाल हाउसमा बसेको बैठकले आगामी मे (जेठ) महिनाभित्र एकताको महाधिवेशन गर्ने निर्णय भएको समितिका सदस्य विनोद कुँवरले जानकारी दिए ।
बैठकले सर्वोच्चको फैसलाअनुसार ६ महिनाभित्र एकताको महाधिवेशन गर्ने प्रतिबद्धतासहित जेठभित्र एकताको महाधिवेशन गर्ने निर्णय गरेको उनको भनाइ छ । यस्तै एकता महाधिवेशन सहजीकरणका लागि प्रतिनिधि पठाउन परराष्ट्र र कानुन मन्त्रालयलाई पत्र लेख्ने, महाधिवेशन गर्नका लागि कार्यविधि बनाउन सहजीकरणका लागि परराष्ट्रलाई अर्को पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा समितिका १३ मध्ये २ जना सदस्य भने अनुपस्थित रहेका छन । बैठकमा केसी अनुपस्थित भए भने पूर्वअध्यक्ष भवन भट्ट अर्को कार्यक्रम भएकाले उपस्थित हुन सकेनन ।
बैठकमा संयोजक घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, रविना थापा,विनोद कुँवर र जानकी गुरुङ भौतिक रूपमा उपस्थित हुँदा जीवा लामिछानेसहितका ६ जना भने भर्चुअल माध्यमबाट बैठकमा सहभागी भएका थिए । बैठकमा बोल्ने सबै सदस्यले एकताको विकल्प नभएको भन्दै सबैलाई मिलाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
यस्तै बैठकमा केसीले एकताका लागि राखिएको बैठकलाई असहयोग गरेर कार्यालय बन्द गरेकोप्रति सदस्यहरूले आक्रोश पोख्दै खेद ब्यक्त गरेका थिए ।
तपाइँको प्रतिक्रिया