सोमबार, कार्तिक ५, २०८१ |Mon Oct, 2024
अक्ल्याण्डको समय: ०८:४४ |सिड्नीको समय: ०६:४४ |काठमाडौंको समय: ०१:२९

युके हुँदै नाइजेरियासम्म फैलियो जेनेस सलुशन

एएनजेड खबरअक्टोबर १९, २०२४

काठमाडौं । बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी, जेनेस सलुशनले नाइजेरियामा आफ्नै कार्यालय खोलेको छ ।

नाइजेरियाको लेगोस शहरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नाइजेरियाका लागि बेलायतको व्यवसाय तथा व्यापार मन्त्रालयका राष्ट्रिय निर्देशक मार्क स्मिथसनले अफ्रिका महादेशमा पहिलो कार्यालय खोलेकोमा जेनेस सलुशनलाई बधाई दिए।

‘गत जुन २०२४ मा युकेको सूचना प्रविधि क्षेत्र १० खर्ब डलर पुगेको मूल्यांकन गरिएको थियो। युकेमा १५० वटा ‘युनिकर्न’कम्पनीहरु छन्। नाइजेरियामा तीव्र रुपमा विकास भैरहेको प्रविधि क्षेत्रमा जेनेस सलुशनको योगदानको हामी स्वागत गर्दछौं,’ उनले भने।

जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले अफ्रिकाको सबैभन्दा ठूलो प्रविधि हबको रुपमा रहेको नाइजेरियामा व्यवसाय विस्तार गर्न पाउँदा आफुहरु अत्यन्तै हर्षित भएको बताए। ‘संसारकै क्लाउड सेवा प्रदायकहरुले उदाउँदा बजारहरुमा आफ्नो सेवा विस्तार गरिरहेको बेला हामीले पनि नाइजेरियामा आफ्नो प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेका हौँ । नाइजेरिया सरकारले ल्याएको राष्ट्रिय डिजिटल अर्थतन्त्र नीतिले व्यापार व्यवसाय तथा लगानी भित्र्याउन सहज गरिदिएकाले पनि हामीले नाइजेरियामा सहकार्य र व्यवसाय वृद्धिको राम्रो सम्भावना देखेका छौं,’उनले भने।

जेनेस सलुशन नाइजेरियाले नाइजेरियाका सरकारी तथा निजी कम्पनीहरुलाई डिजिटल रुपान्तरणका साथै क्लाउड सलुशन्स, साइबर सुरक्षा, डेटा परामर्श लगायतका सेवाहरु उपलब्ध गराउने जनाएको छ।

जेनेस सलुशनका मुख्य प्रविधि तथा सूचना सुरक्षा अधिकृत निरन्जन कुँवरले अहिले सबैजसो कम्पनीहरुका लागि साइबर सुरक्षाको जोखिम उच्च रहेको बताए। उनले दीर्घकालिन व्यवसायिक सफलताका लागि साइबर सुरक्षा व्यवस्थापनमा ध्यान दिन सुझाव पनि दिए।

बेलायतमा मुख्यालय रहेको जेनेस सलुशनका नेपाल, बंगलादेश, स्पेन, अमेरिकालगायतका मुलुकहरुमा कार्यालय छन्। उक्त कम्पनीले नाइजेरियामा आफ्नो दशौँ कार्यालय खोलेको हो।

बेलायतको व्यवसाय तथा व्यापार मन्त्रालयद्वारा आयोजित कार्यक्रममा नाइजेरियाली व्यवसायी, सूचनाप्रविधि क्षेत्रसंग आबद्ध उद्यमी तथा संचारकर्मीहरुको उपस्थिति थियो।

तपाइँको प्रतिक्रिया