शुक्रबार, कार्तिक २, २०८१ |Fri Oct, 2024
अक्ल्याण्डको समय: १८:१९ |सिड्नीको समय: १६:१९ |काठमाडौंको समय: ११:०४

अष्ट्रेलिया जानेलाई युरोप–अमेरिकासरह सुविधा, पाँच सय डलर सटही गर्न पाइने

एएनजेड खबरअक्टोबर १७, २०२४

काठमाडौं । रोजगारीका लागि अष्ट्रेलिया जानेले पनि युरोप, अमेरिका र जापान जानेसरह नै राहदानीबापत सुविधा पाउने भएका छन् ।

हाल जापान, दक्षिण कोरिया, युरोप महादेश, अमेरिका र क्यानडा रोजगारीमा जानेले ५ सय अमेरिकी डलर सटही सुविधा पाउँदै आएका छन् । अन्य देश रोजगारीमा जानेले भने दुईसय डलरसम्म मात्रै उक्त सुविधा पाउँदै आएका छन् । अब भने अष्ट्रेलिया जानेले पनि ५ सय डलरसम्मको सटही सुविधा पाउने भएका हुन् ।

अमेरिका, युरोप र जापानमा जस्तै अष्ट्रेलियामा पनि ‘लिभिङ कस्ट’ उच्च भएकाले सटही सुविधा बढाइएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ । यस्तै, अब विदेश जानेले राहदानीबापत विदेशी मुद्रा सटही गर्दा भ्रमण उद्देश्य खुलाउनुपर्ने भएको छ । अब विदेशी मुद्रा सटही गर्दा विवरणमा भ्रमण उद्देश्य के हो भन्ने खुलाउनुपर्ने छ ।

त्यसका लागि व्यावसायिक, औपचारिक भ्रमण, उपचार, स्थायी बसाइ (प्रथम पटक) अस्थायी रोजगार, शिक्षा, अध्ययन र अन्य व्यक्तिगत भ्रमणमध्ये के प्रयोजनका लागि जान लागेको हो, त्यसको विवरण खुलाउनुपर्ने छ ।

विदेशका अस्पतालमा औषधि उपचार गराउने र औषधि तथा उपचारजन्य उपकरण खरिद गर्न पाउने सटही सुविधा सीमा पनि बढेको छ । हाल नेपालीले १० हजार अमेरिकी डलरसम्म यस्तो सुविधा पाउँदै आएकोमा अब १५ हजार डलरसम्म पाउने भएका छन् ।

तपाइँको प्रतिक्रिया