बिहीबार, असोज ३, २०८१ |Thu Sep, 2024
अक्ल्याण्डको समय: १३:०४ |सिड्नीको समय: ११:०४ |काठमाडौंको समय: ०६:४९

अष्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभल : झुम्मिए हजारौं नेपाली र विदेशी

एएनजेड खबरसेप्टेम्बर १६, २०२४

सिड्नी । अष्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभलको आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ वेस्टन अष्ट्रेलियाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो ।

फेस्टिभलका लागि अष्ट्रेलियाका विभिन्न सहरहरूबाट भेला भएका नेपाली समूदायले नेपालको पर्यटन प्रवद्र्धनमा भूमिका निर्वाह गरे । नेपाललगायत अन्य देशहरूबाट पनि प्रतिनिधिहरू पर्थमा भेला भएका थिए ।

नेपाली कला, संस्कृति परम्पराको जर्गेना एवं प्रचारप्रसारका लागि फेस्टिभल आयोजना गरिएको हो । कलश यात्रासहित सुरु भएको फेष्टिभलमा प्रमुख अतिथिको रुपमा डा.टोनी बुटीले सहभागिता जनाए । सुप्रिम कोर्ट पार्कमा आयोजना गरिएको फेष्टिभलमा १२ हजारभन्दा बढी दर्शक सहभागी भएका थिए ।

फेष्टिभलमा नेपाली खाना, व्यवसायहरुका ३८ वटा स्टल राखिएका थिए । यस्तै नेपालको परिचय गराउने खालका विभिन्न प्रतिकात्मक सामग्री पनि प्रदर्शनीमा राखिएको थियो । फेस्टिभलमा विभिन्न जातजातिको पोशाकसहित संस्कृति झल्काउने नाचहरू प्रदर्शन गरियो ।

नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा), पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पश्चिम अष्ट्रेलियासहित विभिन्न संस्था, क्लब र व्यवसायीहरूले फेस्टिभल आयोजनाका लागि सक्रिय भूमिका निर्वाह गरेका थिए ।

फेस्टिभलमा आगन्तुकहरुले नेपाली पाराको घर, धरहरा, पशुपतिनाथ, बौद्ध लगायतको प्रतिमासँगै फोटो खिचाएर रमाएका थिए । एनआरएन आईसीसीका अध्यक्ष बद्री केसी र नेपाल फेष्टिभलका संयोजक शेखर घिमिरेले संयुक्त रुपमा उदघाटन गरिएको कार्यक्रमपछि पर्थमा पहिलो पटक १० मिनेट आतिशबाजी गरिएको थियो ।

उदघाटन कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले एनआरएन पर्थले नेपाल फेष्टिभल आयोजनामा उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरे । फेस्टिभलमा एक्स व्याण्डले आफ्नो प्रस्तुति दिएको थियो भने गायिका आस्था राउत, लोकगायक बद्री पंगेनीले दर्शक नचाएका थिए ।

फेस्टिभलमा एनआरएनए अभियन्ताहरु विनोद श्रेष्ठ, क्षेत्रीय संयोजक दिनेश पोखरेल सचिव डा.ज्ञानेन्द्र रेग्मी, एनआरएन महिला संयोजक रोजिना प्रधान, टीका गुरुङ, एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटा, न्यूसाउथवेल्सका महावाणिज्यदूत सञ्जीव शर्मा, एनआरएनए अभियन्ता कोमल पाठक, बबिन मिश्र, सन्तोष कुँवर, सञ्जीव ढकाल लगायतले सहभागिता जनाएका थिए ।

तपाइँको प्रतिक्रिया