मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: ०७:१७ |सिड्नीको समय: ०५:१७ |काठमाडौंको समय: ०१:०२

रामपुर क्याम्पसमा नेविसंघ नेतामाथि अखिलको आक्रमण, काठमाडौंमा विरोध प्रदर्शन

एएनजेड खबरअगस्ट ३१, २०२४

काठमाडौं । चितवन रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले नेविसंघ नेताहरुमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएका छन् । आक्रमणका विरुद्ध काठमाडौं प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरिएको छ ।

अखिलका विद्यार्थीहरुले नेविसंघ क्याम्पस इकाइका निवर्तमान सभापति सुभम सिंह ठकुरी, निवर्तमान उपसभापति अभिषेक ओली र सुशील क्षेत्री, वर्तमान सचिव पृतम भण्डारी, कोषाध्यक्ष कमन दाहाल साथै विद्यार्थी नेताहरु नरेश बस्नेत, जेनिश बस्नेतलगायतलाई ज्यान मार्ने नियतले आक्रमण भएको नेविसंघ केन्द्रीय समितिले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

अनेरास्ववियुमा आबद्ध अराजक समूहले क्याम्पस हाताभित्र विद्यार्थीका समस्याका बारेमा छलफल गरिरहेको बेला फलामे रड, धारिलो हतियार, दाउराको चिरपट, इट्टा तथा ढुंगाको प्रयोग गरी आफ्ना विद्यार्थीहरुलाई घाइते बनाइएको नेविसंघ सभापति डुजाङ शेर्पाले जनाएका छन् । सभापति शेर्पाले घटनाको निष्पक्ष छानविन गरी दोषिउपर कडा कारवाहीको माग गरेका छन् ।

सोही आक्रमणको विरुद्धमा दोषि उपर कारवाहीको माग गर्दै विद्यार्थीहरुले शुक्रबार प्रदर्शन गरेका छन् । प्रदर्शनपछिको कोणसभामा नेविसंघ केन्द्रीय सदस्य एवम पार्टीको महाधिवेशन प्रतिनिधि संजिव ढकालले आक्रमणकारी गुण्डाहरुलाई कारवाही नभए नेविसंघले शसक्त प्रदर्शन गर्ने चेतावनी दिंदै सत्ता र शक्तिको आडमा शैक्षिक संस्थामा गुण्डागर्दी बढेकाले आफूहरुलाई सह्य नहुने बताए ।

प्रदर्शनमा नेविसंघ प्रवक्ता सुरज सेजुवाल, केद्रीय सदस्य धर्मराज शाही, भुवन भट्ट, कोटेश्वर क्याम्पसका सभापति संजय बुढाथोकीलगायतका नेताहरुले रामपुर क्याम्पसमा भएको आक्रमण निन्दनीय र अराजकपूर्ण भएको भन्दै दोषिलाई तत्काल कारवाही नगरे देशभर आन्दोलन चर्काउने चेतावनी दिए ।

आक्रमणमा परी घाइते भएका एकजनाको अवस्था चिन्ताजनक रहेको र हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको नेता ढकालले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया