मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: ०७:२७ |सिड्नीको समय: ०५:२७ |काठमाडौंको समय: ०१:१२

२५ महिना अष्ट्रेलियामा विताएका राजदूत पोखरेलको सुखद विदाई

एएनजेड खबरअगस्ट २७, २०२४

सिड्नी । अष्ट्रेलियाका लागि आवासीय नेपाली राजदूत कैलाशराज पोखरेल स्वदेश फिर्ता भएका छन् । करिब २५ महिना अष्ट्रेलियामा विताएका उनले ओसियान क्षेत्रका नेपालीहरुको राम्रो प्रशंसा समेत पाए ।

राजदूत पोखरेल आइतबार सिड्नी हुँदै स्वदेश फर्किसकेका छन् । विमानस्थलमा राजदूतावासका सहकर्मीहरु र न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत सन्जीव शर्माले विदाइ गरेका थिए । त्यसअघि उनले विभिन्न क्षेत्रका नेपाली समूदायसँग विदाई भोज समेत गरेका थिए । २०७९ असार १२ गते नियुक्त भएका उनले २५ महिनाको अवधी विवादरहित रुपमा विताएका थिए ।

रुम्जाटार ९ओखलढुङ्गा०का पोखरेलले नेपाल सरकारको सेवामा विभिन्न ओहदामा रही ३८ वर्ष सेवा गरेका उनले अन्तर्राष्ट्रिय मामिला, वैदेशिक सहायता, व्यापारलगायतका क्षेत्रमा अनुभवलाई अष्ट्रेलियामा सदुपयोग गरेका थिए । २५ महिनामा एक पटक पनि नेपाल नगइ सेवामा विताएका उनले दूताबासको आन्तरिक व्यवस्थापन, दुई देशबीचको सम्बन्ध एवम समूदायका मुल समस्याका बारेमा काम गरेका थिए । विशेषगरी टिफा सम्झौताको हस्ताक्षर गर्नमा पोखरेलले महत्वपूर्ण भूमिकाको निर्वाह गरेका थिए ।

पोखरेलले एसिया प्रशान्त क्षेत्रका फिजी, पपुवा न्यूगिनि र न्युजिल्याण्डको कुटनीतिक सम्बन्ध विस्तारमा विभिन्न चरणमा काम गरेको दाबी गरेका थिए । आफ्नो कार्यकालमा पासपोर्ट विभागको मापदण्ड अनुसार इलेक्ट्रोनिक पासपोर्टलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन, फोन र इमेलको तत्काल रेस्पोन्स गर्न, नेपाल अष्ट्रेलिया सिधा हवाई उड़ानको प्रक्रिया अगाडि बढाउन, दुइ देशबीच लगानी र ब्यापार बढाउने र सहजीकरणको लागि दुइ देशबीच संयन्त्र बनाउनलगायतका महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताएका छन् ।

पोखरेलले दूतावासमा सगरमाथा आरोहीहरुलाई सम्मान गर्नुका साथै नेपाल र अष्ट्रेलियाबीचको सिधा उडानका बारेमा छलफललाई अगाडि बढाउने विषयमा प्रशस्त छलफलहरु भएको जनाएका छन् । पोखरेलको काममा दूतावासमा नगद लेनदेनको डिजिटलाइजेशन र अष्ट्रेलियामा सफल नेपाली व्यक्तिहरूलाई नेपालमा नीति निर्माताहरूसँग जोड्ने कामको सुरुवात समेत गरे ।

उनकी धर्मपत्नी बसुधा पोखरेलले पनि दूतावास र कूटनीतिक कार्यक्रममा सामुदायिक सरोकारलाई सम्बोधन गर्ने र आगन्तुकहरूलाई न्यानो स्वागत गर्नेमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन । पोखरेलको कार्यकालमा न्यु साउथ वेल्स, भिक्टोरिया र न्युजिल्यान्ड लगायतका विभिन्न क्षेत्रमा नयाँ अवैतनिक महावाणिज्यदूतको नियुक्ति भएको थियो ।

अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले पनि पोखरलेको खुलेर प्रशंसा गरेका छन् । ‘२०२३ मा मैले पहिलो पटक नेपाल भ्रमण गरेको थिएँ, जुन सन् १९८५ यता अस्ट्रेलियाको पहिलो मन्त्रीस्तरीय भ्रमण थियो। यो भ्रमणको क्रममा मैले हाम्रा देशहरूबीचको लामो समयदेखिको विकास साझेदारीको साक्षी पाएँ। हामीले हाम्रा देशहरू बीचको व्यापार बढाउनका लागि विदेशमन्त्री साउद र वोसँग पर्थमा टिफा सम्झौतामा हस्ताक्षर गरेका छौं। अष्ट्रेलियामा रहेका नेपाली समुदायको सेवामा तपाईं र दूतावासले खेलेको भूमिकाको म प्रशंसा गर्दछु,’ वाट्ले भनेका छन् ।

त्यस्तै पोखरेलको कार्यकालमा अष्ट्रेलिया र नेपालबीच अष्ट्रेलियाको संघीय संसदका सभामुख र नेपालको राष्ट्रिय सभाका सभामुखको भ्रमणलगायत महत्वपूर्ण उच्चस्तरीय भ्रमणहरू सफल भएका थिए । दूतावासमा लामो समयदेखि राहदानी वितरणको समस्या समाधान, सीमित श्रोतसाधनका बाबजुद पनि उनले फोनसम्बन्धी समस्याहरू समाधान गर्नुका साथै नगदको सट्टा बैंक कार्डबाट भुक्तानी सिस्टम ल्याएका थिए ।

दिउँसो २ बजेपछि अपोइन्टमेन्ट बिना नै राहदानी नवीकरण सेवाहरू उपलब्ध गराए जसले अत्यावश्यक आवश्यकतामा परेकाहरूलाई ठूलो सहयोग पुगेको थियो ।

तपाइँको प्रतिक्रिया