मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: ०७:११ |सिड्नीको समय: ०५:११ |काठमाडौंको समय: ००:५६

यूएनडिओ विश्वभर फैलिने, शेष घलेलाई बधाई र शुभकामनाको ओइरो !

एएनजेड खबरअगस्ट २१, २०२४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनएए)को १० औँ महाधिवेशनबाट अलग भएका गैर आवसीय नेपालीहरुले स्थापना गरेको युनाइटेड नेपाली डायस्पोरा संगठन (यूएनडिओ)ले विश्वभर आफ्नो संजाल विस्तार गर्न प्रक्रिया अगाडि बढाएको छ । हाल एनआरएनए छिन्नभिन्नजस्तै भएपछि यूएनडिओले आफ्नो उपस्थिति बलियो देखाउनेगरी सदस्यता विस्तार गरेको जनाइएको छ ।

एनआरएनएभित्रै समानान्तर गतिविधि गर्दै आएका पूर्वअध्यक्ष शेष घलेकै निकट मानिएका व्यक्तिहरुको सक्रियतामा स्थापना भएको संस्थाले नेपाल र नेपालीहरुको भावनालाई प्रतिनिधित्व गर्ने दाबी गरिएको छ । सोही कारण अहिले सामाजिक सन्जाल र विभिन्न माध्यमवाट शेष घलेलाई यूएनडिओको सफलताका लागि शुभकामना दिनेहरूको होडबाजी चलेको छ ।

हाल संस्थाको अध्यक्षमा सोनाम लामा, सचिवमा तेन्जिङ उक्याब, कोषाध्यक्ष कुशल केसी छन् भने कार्य समिति सदस्यमा रन्जु वाग्ले थापा, डम्बर घले, इर्साद अहमद र दिपेश खत्रीलगायत छन् ।

यूएनडिओका कोषाध्यक्ष कुशल केसीका अनुसार नयाँ सदस्यताका लागि आवेदन खुलाइसकेको र अक्टोबरमा प्रथम महाधिवेशन गर्नेगरी तयारी गरिएको छ । ‘हाम्रो आफ्नै उद्देश्य, लक्ष्य र बाटो छ । संस्थालाई दलीय राजनीतिबाट मुक्त राख्दै विश्वभरका नेपाली र मातृभूमिका लागि काम गर्न पवित्र उद्देश्य लिएर हामीले सक्रियता बढाएका छौं । संस्थाको मापदण्डभित्र रहेर सदस्यता लिनका लागि डायस्पोराका नेपालीहरुलाई आग्रह गर्दछु,’ उनले भने ।

हालसम्म तदर्थ समितिले काम गर्दै आएपनि अब अक्टोबरको अन्तिम साता प्रथम महाधिवेशन गरेर वैधानिक समितिमार्फ काम गर्ने कोषाध्यक्ष केसीले जानकारी दिए । ‘हाम्रो उद्देश्य एनआरएनएसँग मिल्दोजुल्दो होला, तर काम गर्ने तरिका फरक छ, बाटो अलग छ । डायस्पोराका सबै नयाँ पुस्ता हामीसँग जोडिसकेका छन् । सबै साधारण सदस्यले संस्थाप्रति अपनत्व हासिल गर्नेछन् र दलीय राजनीतिक गन्धबाट मुक्त हुनेछन्,’ उनले भने ।

सर्वोच्च अदालतले हालैमात्र एनआरएनएका विषयमा कार्य क्षेत्र र जिम्मेवारी बाझिनेगरी फरक फरक फैसला गरेपछि आफूहरुलाई थप सहज भएको उनले बताए । एनआरएनए वितेको चार बर्ष अदालतमात्र धाइरहेको, विधान अनुसार काम नगरेको, तीन अध्यक्ष राखेर कहीं नभएको जात्रा प्रश्तुत गरेको, सिमित व्यक्तिले संस्थाका नाममा स्वार्थपुर्ति गर्ने काम गरेकाले यूएनडिओप्रति आकर्षण बढेको उनको दाबी छ ।

परराष्ट्र मन्त्रालयका अनुसार २९ पुस २०८० मा परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ बमोजिम यूएनडिओ दर्ता गरी प्रमाणपत्र प्रदान गरिएको थियो । तत्कालीन एनआरएनए उपाध्यक्ष सोनाम लामाले संस्था दर्ता गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए ।

तर, पराराष्ट्रले छुट्टै संस्था दर्ता गर्न अस्विकार गरेपछि उनी सर्वोच्च पुगेका थिए । यूएनडिओ सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यूएनडीओ जस्तै अन्य संस्था दर्ताका लागि बाटो फुकाएको थियो ।

तपाइँको प्रतिक्रिया