मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: ०७:१६ |सिड्नीको समय: ०५:१६ |काठमाडौंको समय: ०१:०१

‘अब नाच्छ अमेरिका’ : रचना, शान्तिश्री, करिष्मा र ज्योतिले नचाए वोस्टन

एएनजेड खबरअगस्ट १२, २०२४

वोस्टन । गायिका रचना रिमाल र शान्तिश्री परियारले अमेरिकाको बोस्टनका दर्शकलाई आफ्नो धुनमा नचाएका छन् । ‘अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपाले आयोजना गरेको कार्यक्रममा मोडलहरु करिष्मा ढकाल र गायिक ज्योति मगरले पनि दर्शकलाई धीत मर्नेगरी नचाएको आयोजकले जनाएको छ ।

‘अब हाँस्छ अमेरिका’को सफलतापछि आयोजक फ्लाइ नेपाल अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको आयोजना गरेको हो । तीज लक्षित कार्यक्रमको सुरुवात अमेरिकाको बोस्टनबाट शनिबार नेपालको राष्ट्रिय गानसँगै गरिएको थियो ।

यसपछि मञ्चमा देखा परेका करिष्मा, रचना, शान्तिश्री र ज्योति मगरले बोस्टनका पाँचसय बढी दर्शकलाई तीन घन्टा भरपुर मनोरञ्जन दिएका थिए । प्रस्तुतिको सुरुवात करिष्माले ‘हिजो राति सपनीमा’ बोलको नृत्यबाट गरेकी थिइन् ।

करिष्माले तताएको माहोललाई थप जोशिलो बनाउँदै गायिका रचना रिमालले आफ्ना हिट नम्बरहरु प्रस्तुत गरेकी थिइन् । उनले परदेशीलाई भावुक बनाउने ‘नमुछे आमा दहीमा टीका’बाट गाउन सुरु गरे पनि प्रस्तुतिको अन्त्यतिर ‘सम्झिने पानी छम्किने’ ‘मिनरल वाटर’ आदि गाएर दर्शक नचाएकी थिइन् ।

रचना रिमालपछि शान्ति श्री परियारले ‘गलबन्दी च्यातियो’‘अरेली काँडैले’ ‘लाहुर जाने रेलैमा’ लगायतका दर्जन हाराहारी चर्चित गीत प्रस्तुत गरेकी थिइन् । तर ‘बोल माया’ ‘लौन दाजै’ गीतबाट आफ्नो गायकी सुरु गरेकी उनले हलमा उपस्थित दर्शकलाई सुरुमै भावुक बनाएकी थिइन् ।

कार्यक्रमको बिट मार्ने गरी मञ्चमा आएकी ज्योति मगरले पनि आफ्नो पहिचान अनुरुप दर्शकलाई गीत र नृत्यको धुनमा डुबाएकी थिइन् । उनले पनि आफ्ना चर्चित गीत ‘ढाडे बिरालो’ ‘उही मुलाको सिन्की’ पस्किएकी थिइन् । आयोजक विनोद अधिकारीले परदेशमा घरदेश जोड्ने अभिप्रायले कार्यक्रम गरेको बताउँदै पहिलो कार्यक्रम अन्त्यन्त सफल रहेको प्रतिक्रिया दिए ।

देशका चर्चित स्टयान्ड कमेडियनलाई लिएर गरिएको अमेरिका यात्रा ‘अब नाच्छ अमेरिका’ सफलतापछि हामीले ‘अब नाच्छ अमेरिका’ को तयारी गरेका थियौँ । जसको सुरुवात बोस्टनबाट भव्यताका साथ सुरु भएको छ,’आयोजक विनोदले भने, ‘यो चाडबाडको समयमा दर्शकको तीन घन्टाको अमूल्य समय सार्थक पारौँ भन्ने हाम्रो प्रयास हो जुन पहिलो कार्यक्रमले नै पूरा गरेको छ ।’

आयोजकका विनोदका अनुसार गायिका तथा मोडलको टोलीले न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया आदि ठाउँमा कार्यक्रम गर्नेछ । अमेरिकाका कुल २१ सहरमा कार्यक्रमको टुंगो लागिसकेको उनले जानकारी दिएका छन् । करिब दुई महिना चल्ने कार्यक्रम सकेर टोली सेप्टेम्बर ३० मा नेपाल फर्कनेछ ।

तपाइँको प्रतिक्रिया