बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:४८ |सिड्नीको समय: ०२:४८ |काठमाडौंको समय: २२:३३

सिड्नीमा ‘अस्ट्रेलिया–नेपाल इकोनोमिक सम्मेलन’को तयारी सुरु

एएनजेड खबरअगस्ट १०, २०२४

सिड्नी । अस्ट्रेलिया–नेपालबीचको व्यवसायिक सम्बन्ध थप बलियो बनाउन सिड्नीमा एक बृहत सम्मेलनको तयारी सुरु भएको छ । सिड्नीमा ‘अस्ट्रेलिया–नेपाल इकोनोमिक सम्मेलन’ को तयारी सुरु गरिएको हो ।

अस्ट्रेलिया– नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आगामी डिसेम्बर २०२४ मा सम्मेलन आयोजना हुने लागेको हो । सम्मेलनमा, नेपालमा लगानीको अवसर र त्यसका प्रक्रियाबारे अस्ट्रेलियन लगानीकर्तालाई जानकारी गराइनेछ ।

अस्ट्रेलिया–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डिला खरेलले नेपालमा विदेशी लगानीको अवसर र विदेशी लगानी भित्र्याउन हाल देखिएका समस्या समाधानका उपाय खोजीका विषयमा बृहत् छलफल गर्न सम्मेलन प्रभाबकारी हुने जानकारी दिए । सम्मेलनमा अस्ट्रेलियन उद्योगी व्यवसायीहरूका माझमा नेपालमा लगानीको अवसर, लगानीका क्षेत्र र प्रतिफलका सम्बन्धमा छलफल हुने अध्यक्ष खरेलको भनाइ छ ।

नेपालबाट निजी क्षेत्रको समेत सहभागिता सुनिश्चित गर्न उद्योग वाणिज्य महासंघ, लगानी बोर्ड, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघलाई औपचारिक रूपमा निमन्त्रणा पठाइने अध्यक्ष खरेलले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा अस्ट्रेलियाका अर्थमन्त्री जिम चाल्मर्र र त्यहाँको केन्द्रीय बैंकका प्रतिनिधिसहित नेपालबाट अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनर सहभागी हुनेछन् ।

‘समग्रमा दुई देशका उद्योगी व्यवसायीसहित दुई देशका सरकारका अधिकारीहरूसमेत सहभागी गराउने र नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउने विषयमा सम्मेलनमा केन्द्रित हुने खरेलको दाबी छ ।

नेपाल र अस्ट्रेलियाबीच १० वर्षयताको आयात निर्यात तथ्यांकलाई केलाउँदा हरेक वर्ष नेपालको व्यापार घाटा बढ्दो छ । बढ्दो व्यापार घाटा कम गर्न टिफा सम्झौताले सहयोग गर्ने बताइए पनि त्यो कागजमा मात्र सीमित रहेको बताइदै आएको छ ।

सम्झौता कार्यान्वयन गर्न दुवै देशका उच्च अधिकारी सम्मिलित संयन्त्र बनाउने भनिए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । नेपालले वाणिज्य सचिवको नेतृत्वमा संयन्त्र बनाउने भने पनि अस्ट्रेलियाका तर्फबाट पहल भएको छैन ।

तपाइँको प्रतिक्रिया