बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:२४ |सिड्नीको समय: ०२:२४ |काठमाडौंको समय: २२:०९

३४ अर्ब ६१ करोड घाटामा रहेको प्राधिकरण कुलमानको नेतृत्वमा १३ अर्ब ३१ करोड नाफामा

एएनजेड खबरअगस्ट १०, २०२४

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण १३ अर्ब ३१ करोड रुपैयाँ नाफामा रहेको बताएका छन् ।

प्राधिकरणको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै आठ वर्षअघि ३४ अर्ब ६१ करोड घाटामा रहेको प्राधिकरण अहिले १३ अर्ब ३१ करोड नाफामा रहेको सगर्व बताए ।

उनले भने, ‘आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।’ उनले गत आर्थिक वर्ष २०८०–८१ मा प्राधिकरण १३ अर्ब ३१ करोड रुपैयाँ नाफामा रहेको उनले बताए ।

‘आर्थिक वर्ष २०७२–७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता ती दिन फर्केर हेर्नु परेको छैन’, घिसिङले भने ।

उनले २०७३–७४ मै प्राधिकरणले १ अर्ब ५० करोड नाफा कमाएदेखि निरन्तर नाफामा रहेको जिकिर गरे । घिसिङले आफ्नो दोस्रो कार्यकालको तीन वर्ष पुरा गरेका छन् । तीन बर्षे अवधिकमा उनले विद्युत् उत्पादनसँगै अन्तरदेशीय विद्युत् प्रशारण लाइनको विस्तार तथा स्तरोन्नतीमा व्यापक सुधार भएको बताए ।

उनका अनुसार भारतसँगको विद्युत् व्यापारका लागि करिब २ हजार ५०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तर्देशीय प्रसारण लाइन निर्माणाधीन अवस्थामा छ ।

नेपाल–भारत बीचको विद्युत् आयात निर्यातका लागि ८ वर्षअघि करिब ३५० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइन क्षमता रहेकोमा हाल करिब २ हजार मेगावाट पुगेको उनले बताए ।

उनका अनुसार आठ वर्षअघि अर्थात आर्थिक वर्ष २०७२/७३ मा मुुलुकमा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षको अवधिमा भएको उपलब्धि मध्ये विद्युतीकरणमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको उनले बताए । उनले तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको बताए ।

उनका अनुसार आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युतको ग्राहक संख्या अहिले सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । साथै उनले आठ वर्षअघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको पनि बताए । उनका अनुसार सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्नेगरी प्रसारण लाइन सञ्जालको विस्तार गरिने सुनिश्चितता गरिएको छ ।

तपाइँको प्रतिक्रिया