आइतबार, मंसिर ९, २०८१ |Sun Nov, 2024
अक्ल्याण्डको समय: ०८:५४ |सिड्नीको समय: ०६:५४ |काठमाडौंको समय: ०१:३९

लोकतन्त्रकी हिमायती शेख हसिना कसरी पतन भइन् ?

एएनजेड खबरअगस्ट ६, २०२४

एजेन्सी । अन्ततः बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलनका कारण सत्तापलट नै भएको छ । विद्यार्थी आन्दोलनमा बर्बर दमन भएको भोलिपल्ट प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देशै छाड्नु परेको छ ।

आइतबार भएको बर्बर दमनको विरोधमा कफ्र्युको बेवास्ता गर्दै सोमबार सडकमा उत्रिएका विद्यार्थी र सर्वसाधारण प्रदर्शनकारी प्रधानमन्त्री निवासमा धावा बोल्न अघि बढेपछि प्रधानमन्त्री हसिना सेनाको हेलिकप्टर चढेर भारततर्फ भागेकी हुन् । राष्ट्रपति समक्ष राजीनामा दिएर विदाई भाषण रेकर्ड गराउन खोजेकी प्रधानमन्त्री हसिना हतार हतारमा भाग्नु परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री हसिना देशबाट भागेलगत्तै प्रधानमन्त्री निवासमा प्रवेश गरेका प्रदर्शनकारीले त्यहाँ खुशीयाली मनाएका थिए । प्रधानमन्त्री हसिनाले देश छाडेलगत्तै बंगलादेशका सेना प्रमुख वकार उज जमानले देशवासीका नाममा सम्बोधन गर्दै आन्दोलनकारीहरुलाई देशमा शान्ति कायम राख्न अपील गरे ।

सेना प्रमुखले आन्दोलनकारीका सवै माग पुरा गरिने बचन पनि दिएका छन् । छिट्टै अन्तरिम सरकार गठन गर्ने भन्दै उनले त्यसका लागि राजनीतिक दलहरुसंग छलफल शुरु भईसकेको पनि बताएका छन्। अन्तरिम सरकार गठन नभएसम्म भने सेना नै सम्हाल्ने पनि उनले उल्लेख गरे ।

विद्यार्थी आन्दोलनलाई बेलैमा सम्बोधन गर्न नसक्दा शेख हसिनाको १५ वर्ष लामो शासनकाल अनायाशै टुंगिएको छ । संयोग के छ भने विद्यार्थी राजनीतिबाट सत्ताको शासनमा पुगेकी हसिनालाई विद्यार्थी आन्दोलनले सत्ताच्यूत गरिदिएको छ । कुनै बेला आमा, बाबु र तीन भाइको हत्यापछि भारतमा निर्वासित भएकी शेख हसिना १७ मे १९८१ मा राजधानी फर्किंदा हजारौं मानिसले विमानस्थलमा स्वागतमा हर्षका आँसु झारेका थिए । अहिले विद्यार्थी आन्दोलनको बलमा देशबाट लखेटिँदा खुसीले हर्षोल्लास मनाएका छन् ।

विद्यार्थी आन्दोलनबाट स्थापित हसिनाले राजनीतिका चार दशक लोकतन्त्रका लागि लडेकी भनिए पनि पछिल्लो समय लोकतन्त्र मास्न उद्दत भएको आलोचना खेपेकी थिइन् । उनी जुन धरातलबाट सत्ताको सिंहासनमा पुगेकी थिइन्, तिनै विद्यार्थीले आफ्नो अधिकारका लागि आन्दोलन गर्दा दबाउन खोज्दा आफ्नो देश नै छाडेर भाग्नुपर्ने स्थिति बन्यो ।

विश्वविद्यालय र कलेजका विद्यार्थीको प्रदर्शन देशभर व्यापक असन्तुष्टि, रक्तपात र आतंकित अवस्थामा पुगेको छ । बंगलादेशको सरकारले आन्दोलनलाई रोक्ने प्रयास गरे पनि प्रदर्शनकारीहरू पछाडि हटेनन् । अन्त्यमा यसै कारण राजीनामा दिएर शेख हसिनाले देश नै छोड्नुपरेको छ । शेख हसिनाले सोमबार पदबाट राजीनामा दिएर परिवारका साथ देश छोडिन् । त्यसपछि ठूलो संख्यामा प्रदर्शनकारीले उनको सरकारी निवासमा आक्रमण गरेका छन् र लुटपाट मच्चाएका छन् ।

गत महिना सुरु भएको आरक्षणविरोधी आन्दोलनको बाढीले बंगलादेशी प्रधानमन्त्री हसिनाले कुर्सी मात्रै छाड्नुपरेन, उनलाई देश नै छाडेर जान बाध्य बनाएको छ । हसिना छिमेकी देश भारत पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । हसिनाको राजीनामासँगै बंगलादेशमा सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

हसिनाले देश छाडेको केहीबेरपछि सेना प्रमुख उज–जमानले पत्रकार सम्मेलन गर्दै अन्तरिम सरकार बनाउने बताएका हुन् । उनले अन्तरिम सरकार बनाउन राष्ट्रपतिका साथै विपक्षी दल नागरिक समाजसँग संवाद गरेको बताए । तर, हसिनाको दल अवामी लिगको भने उनले नाम लिएनन् ।

सन् २००९ देखि मुलुकमा शासन गरिरहेकी ७६ वर्षीया हसिना आफ्नो राजीनामा घोषणा पनि रेकर्ड गर्न नपाई सेनाको हेलिकोप्टरमा चढेर भारततर्फ लागेकी छन् । बंगलादेशमा घात प्रतिघातको राजनीति लामो समय चल्दै आएको छ । सत्ताबाहिर रहेका नेताहरू जेल पर्नु अनौठो होइन । तर, केही महिनाअघिसम्म शेख हसिनाले यति छिट्टै यो दिन देख्नुपर्ला भन्ने कल्पना सायदै कसैले गरेका थिए ।

धेरैले पछिल्ला १६ वर्ष हसिनाले बंगलादेशको नेतृत्व गर्दा बंगलादेशबाट गरिबी हटाउनमा उनको योगदान भएको मान्छन् । साथै बंगलादेशको आर्थिक समृद्धि हसिनाकै कारण भएको विश्वास मान्छन् । तर, अहिले उनै हसिना यति कमजोर भइन् कि राजीनामा दिएर पनि देशमा बस्नसक्ने अवस्था बनेन ।

हसिनाले गत ७ जनवरीमा चौथोपटक लगातार निर्वाचन जितेर सत्तामा पकड बलियो बनाएकी थिइन् । कतिसम्म भने सो चुनावमा विपक्षीहरू नै थिएनन् । तर, सात महिना नबित्दै उनी निर्वासित हुनुपरेको छ । यससँगै बंगलादेशमा सबैभन्दा लामो समय सत्ता चलाएकी प्रधानमन्त्रीको शासन अन्त्य भएको छ । जसले मुलुकलाई २० वर्षभन्दा बढी आफ्नो पकडमा राखेकी थिइन् ।

ओस्लो युनिभर्सिटीसँग जोडिएका डा। मुबसर हुसैन बंगलादेशमा यस्तो हालत एक दिनमा नबनेको र यो प्रेसरकुकर जसरी विस्फोट भएको बताउँछन् । डा। हुसैनले एसियामा तानाशाही’दयगत गहन अध्ययन गरेका छन् । उनले बीबीसी बंगलासँग भनेका छन्, ‘स्मरण गर्नुहोस्, हामी यस्तो देश’ कुरा गरिरहेका छौं, जसको प्रेस स्वतन्त्रता सूचकांक रुसभन्दा पनि खराब छ ।’ बंगलादेशमा भएको विद्यार्थीको आन्दोलनलाई उनले कमजोरीका रूपमा ठान्नु र आन्दोलन दबाउन खोज्नु उनका लागि दुर्भाग्य बन्न पुग्यो ।

आइतबार देशैभर भएको हिंसामा कम्तीमा ९० जनाको मृत्यु भएको थियो । यी विरोध प्रदर्शनमा सयौं घाइते भएका थिए । हजारौं प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस र रबरका गोली प्रहार गर्दा मृत्यु भएको हो । आइतबारको घटनामा १४ प्रहरीले समेत ज्यान गुमाएका छन् ।

हसिनाको बहिर्गमनसँगै बंगलादेशमा सेनाले अन्तरिम सरकार बनाउने सम्भावना छ । आईएसएस र चीनको प्रभाव बंगलादेशको राजनीतिमा पर्नसक्ने देखिन्छ । पाकिस्तानबाट छुट्टिएर बनेको दक्षिण एसियाको कान्छो मुलुक बंगलादेशमा यसअघि पनि छिमेकी देशको प्रभाव थियो ।

सेना प्रमुख जनरल वाकर–उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरिसकेका छन् । देशवासीका नाममा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । अहिलेको अवस्थाको सारा जिम्मेवारी आफूले लिएको उनको भनाइ छ । देशले निकै कष्ट भोगिसकेको, अर्थतन्त्र मारमा परेको र कयौंको ज्यान गइसकेकाले हिंसा अहिले नै रोक्नुपर्ने पनि उनले बताएका छन् ।

उनले आफ्नो सम्बोधनपछि स्थितिमा सुधार आउने आशा गरेका छन् । स्थिति राम्रो भयो भने आपत्काल लगाउनुपर्ने जरुरी नहुने पनि उनले बताए । ‘सबै हत्यारा’लाई नयाँ सरकारले अभियोग चलाउने उनले वाचा गरेका छन् । शेख हसिनाले राजीनामा दिइसकेको अवस्थामा शान्त भएर सेनालाई सघाउन पनि उनले विद्यार्थीहरूलाई आग्रह गरेका छन् ।

बंगलादेशमा भर्खरै निर्वाचन भएको थियो । निर्वाचनमा व्यापक धाँधली भएको भन्दै त्यहाँका सबै विपक्षी दलले सो निर्वाचन बहिष्कार गरेका थिए । अब यतिबेला सबैको नजर बंगलादेशको सेनामा छ ।

ग्लोबल फायरपावरका अनुसार पावर इन्डेक्स स्कोरमा बंगलादेशी सेना १ सय ४५ देशमध्ये ३७औं स्थानमा छ । त्यहाँको सेनामा लगभग १ लाख ७५ हजार जना सक्रिय सैनिक छन् । सेनासँग २ सय ८१ वटा ट्यांक, १३ हजार १ सय बख्तरबन्द वाहन, ३० थान स्वचालित तोपखाना, ३ सय ७० थान टो–आर्टिलरी, ७० थान रकेट आर्टिलरी छ । जलसेनामा ३० हजार जना सदस्य छन् । दक्षिण एसियामा भारत र पाकिस्तानपछि तेस्रो ठूलो रक्षा बजेट हुने देश बंगलादेश हो । यसले बर्सेनि रक्षा क्षेत्रमा ३ अर्ब ८० करोड डलर खर्च गर्ने गरेको छ ।

प्रदर्शन चर्किएपछि देश छोडेर भागेकी हसिनाका छोरा सजिब वाजेद जोयले आफ्नी आमा अत्यन्त निराश रहेको र अब उनको राजनीतिमा पुनरागमन नहुने बताएका छन् । पछिल्लो समय लोकतन्त्रविरोधी शासन चलाएकी हसिनाले आलोचक, पत्रकार र नागरिक समाजका अगुवामाथि प्रतिशोधपूर्ण कारबाही गरेकी थिइन्, यही स्वभाव नै उनको पतनको कारण बन्यो । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई हसिना नेतृत्वको सरकारले ६ महिना जेल पठाएको थियो, उनीमाथि श्रम कानुन उल्लंघनको अभियोग लगाइएको थियो ।

तपाइँको प्रतिक्रिया