शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १०:१० |सिड्नीको समय: ०८:१० |काठमाडौंको समय: ०३:५५

विक्षिप्त बनाउने भयानक जहाज दुर्घटना : परीक्षण उडानमा १८ ले गुमाए ज्यान

एएनजेड खबरजुलाइ २४, २०२४

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमानमा १८ जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारीअनुसार सवार १९ मध्ये एक जनाको उपचार भइरहेको छ भने बाँकी सबैको मृत्यु भएको हो ।

चार जनालाई उद्धार गरेर अस्पताल पुर्याइएको भए पनि तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो भने ३७ वर्षीय क्याप्टेन मनिष शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ । उनको सिटी स्क्यान भइरहेको अस्पतालले जनाएको छ । उनी बोल्न सक्ने अवस्थामा छन् ।

बिहान ११ बजेपछि बजे काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको ९एन–एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै दुर्घटना भएको थियो ।

दुर्घटना भए पश्चात् तत्काल विमानस्थलमा रहेको नेपाली सेनाको टोलीलगायत विमानस्थल सुरक्षार्थ तैनाथ नेपाली सेनाका युनिटहरुबाट २ सय ५२ जनाको टोलीले अन्य सुरक्षा निकाय सहित तत्काल उद्धार कार्यमा परिचालन भई दुर्घटनाग्रस्त जहाजबाट चालक दलका एक जना सदस्यलाई जीवितै उद्धार गरी थप उपचारको लागि काठमाडौँ मेडिकल कलेजमा पठाएको र १८ जनाको शव निकाली त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा पठाएको जनाएको छ ।

उक्त जहाजमा चालक दलका २ जना सदस्य सहित १९ जना रहेका थिए । जसमा १८ जना नेपाली र एक जना यमनका नागरिक हुन् । जहाज दुर्घटनाका मृतकहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम भएको छ। अस्पताल बाहिर मृतकका शोकाकुल आफन्त विक्षिप्त अवस्थामा पुगेका छन् । पोष्टमार्टम पूरा हुन तीन दिनसम्म लाग्न सक्ने अनुमान गरिएको छ । तबमात्र शवहरु आफन्तको जिम्मा लगाउने तयारी रहेको छ ।

घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे सौर्य एयरको विमान दुर्घटना स्थल पुगेका थिए । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् । आयोगलाई ४५ दिन म्याद दिइएको छ ।

सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । योसँगै सन् १९५५ यता नेपालमा १०७ वटा हवाई दुर्घटना भएका छन् । नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार यी दुर्घटनामा ९५९ जनाको ज्यान गएको छ । करिब ६९ वर्षको अवधिभर भएका यी हवाई दुर्घटनामा नेपालका मल्टिइन्जिन विमान, सिंगल इन्जिन विमान, विदेशी विमान र हेलिकप्टर छन् ।

दुर्घटनामा पर्ने प्राविधिकहरू यही विमानको विस्तृत परीक्षण गर्न पोखरा विमानस्थल लिएर जाँदै थिए । विमानको नियमित मर्मत र सम्भारको समय तालिकाअनुसार यो विमानको विस्तृत मर्मतको अवधि अझै ५० घण्टा बाँकी थियो । यो अवधिसम्म ‘सीआरजे२००, ९एएमई’ले नियमित उडान गर्न मिल्ने नेपाल नागरिक उड्डायन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेयले जानकारी दिए ।

उनका अनुसार यस विमानमा बसेर विस्तृत मर्मत सम्भार गर्न सौर्य एयरका प्राविधिकहरू पोखरा जाँदै थिए । उनीहरूले नै प्राविधिक जाँच गरेर यो विमान उडाउन मिल्ने भनी आफैँ सवार थिए । काठमाडौंमा विमानको विस्तृत मर्मत सम्भार गर्ने ठाउँ नभएकाले पोखरामा दुई महिना राखेर विस्तृत मर्मत सम्भार गर्नुपर्ने प्रवक्ता पाण्डेय बताउँछन् ।

विस्तृत मर्मत सम्भारको अवधि धेरै भएको भए पनि यो कसरी दुर्घटना भएको हो भनेर अध्ययन गरेर मात्र थाहा हुने उनी बताउँछन् । लोडको भारले पनि यो दुर्घटना नभएको उनको भनाइ छ । यो विमानमा ७१ जना यात्रु बोक्ने क्षमता रहेको उनी बताउँछन् । त्यस्तै, विमान बिग्रिएर पनि दुर्घटना नभएको उनको भनाइ छ ।

तपाइँको प्रतिक्रिया