शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १०:१३ |सिड्नीको समय: ०८:१३ |काठमाडौंको समय: ०३:५८

इजरायलले दुई हजार जना नेपालीलाई केयरगिभरको जागिर दिने

एएनजेड खबरजुलाइ २३, २०२४

काठमाडौं । इजरायलले नेपालबाट दुई हजार जना स्वास्थ्य सहायक (केयरगिभर) लैजाने भएको छ । हाल ८ सय जना लैजानेगरी आवेदन प्रक्रिया अघि बढेको छ । तर, अब इजरायलले ८ सयको सट्टा दुई हजार जना लैजाने सहमति भएको हो ।

सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनान गोदेरबिच भएको भेटवार्तामा उक्त सहमति भएको छ ।

इजरायलले हाल ५ सय जना मुख्य उम्मेदवार र ३ सय जना वैकल्पिक गरी ८ सय जना नेपाली श्रमिकलाई इजरायल लैजाने भनेको थियो । तर, सोमबार भेटपछि उक्त सङ्ख्या बढाएर एक हजार जना मुख्य उम्मेदवार र एक हजार जना वैकल्पिक उम्मेदवार गरी कुल दुई हजार जना लैजान सकिनेगरी सहमति भएको श्रम मन्त्रालयले जनाएको छ ।

थप लैजाने भनिएका कामदारहरूको हकमा समेत अहिले आह्वान भएको आवेदन प्रक्रियाबाटै अगाडि बढ्ने मन्त्रालयले जनाएको छ । हाल ८ सय जनाका लागि ६ हजारभन्दा बढीको आवेदन परेको मन्त्रालयले जनाएको छ । तिनैबाट छनौट गरेर छनोट भएका उम्मेदवारहरूलाई लैजानेगरी दुई पक्षबिच सहमति भएको हो ।

तपाइँको प्रतिक्रिया