शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:३९ |सिड्नीको समय: ०७:३९ |काठमाडौंको समय: ०३:२४

ओलीले पाए विश्वासको मत, देउवाले खोजे ग्यारेन्टी

एएनजेड खबरजुलाइ २२, २०२४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । गत असार ३१ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिएका हुन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेको र उक्त प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गरेकामा ओलीले भारी बहुमतसहित विश्वासको मत पाएका हुन् ।

संसदमा उपस्थित २६३ सांसदमध्ये ओलीको पक्षमा १८८ मत आएको छ भने विपक्षमा ७४ मत आएको छ । मत दिन्न भन्नेमा एक मत परेको छ । प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन बनेसँगै अहिलेको सरकार मजबुत सरकार बनेको छ ।

ओलीले विश्वासको मतलाई बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफूलाई दुईतिहाइ मत दिएकोमा प्रतिनिधिसभाका सबै सदस्यहरूलाई धन्यवादसमेत ज्ञापन गरेका छन् ।

‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ । यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने छु’, ओलीले आइतबार साँझ फेसबुकमा लेखेका छन् ।

विश्वासको मत पाएका ओलीको जोड संविधान संशोधनमा छ । संविधान संशोधनका लागि कांग्रेस एमालेको सरकार बनेको उनले प्रस्टीकरण दिए । उनले ओलीले संविधान संशोधन रहर नभई आवश्यकता भएको बताएका छन् । उनले जनताको चाहनाअनुसार संविधान संशोधन हुन सक्ने बताए ।

‘संविधान संशोधनीय, गतिशील र जीवन्त दस्तावेज हो । यो आवश्यकता र जनताको मागअनुसार संशोधन हुन्छ, हुन सक्छ । रहरको विषय होइन, आवश्यकताको विषय हो,’ उनले भने । यसअघि सर्वसम्मतिमा संविधान संशोधन भएको ओलीले बताए । त्यसबेला पनि केही सांसदहरूले असहमति राखेको ओलीले स्मरण गरे ।

विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा १७ असारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमति सार्वजनिक गरे । सो सहमतिमा पनि संविधान संशोधनको विषय समेटिएको छ । अधिकांश बुँदामा राष्ट्रिय सहमतिको सरकार उल्लेख गरिएको छ ।

प्रतिनिधिसभाको ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा एमाले वर्तमान गठबन्धनप्रति दृढ रहेको ग्यारेन्टी खोजे । उनले सातबुँदे सहमति कार्यान्वयनप्रति कांग्रेस दृढ रहेको बताउँदै एमाले पनि दृढ रहनेमा आफू पूर्ण रूपले विश्वस्त रहेको पनि बताए ।

‘राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउनका लागि गठन भएको वर्तमान सरकार सफल हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने, ‘तसर्थ १७ असारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिको कार्यान्वयनप्रति नेपाली कांग्रेस दृढ छ । एमाले पनि यस कुरामा दृढ रहनेछ भन्ने कुरामा पूर्ण रूपले विश्वस्त छु ।’

देउवाले संविधान संशोधन गर्नु लोकतान्त्रिक अभ्यास रहेको बताए । ‘संविधान प्रारम्भ भएको आठ वर्ष पूरा भएको छ । यसको सबल पक्ष, दुर्बल पक्ष, जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास हो,’ उनले भने, ‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ ।’

तपाइँको प्रतिक्रिया