शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:३३ |सिड्नीको समय: ०७:३३ |काठमाडौंको समय: ०३:१८

विवादमा उपसभामुख : किन बढ्यो राजीनामाको दबाब ?

एएनजेड खबरजुलाइ २०, २०२४

काठमाडौँ । उपसभामुख ईन्दिरा रानामगर विवादमा आएकी छिन । उनका कतिपय अभिव्यक्ति गैरजिम्मेवारपूर्ण देखिएका छन् । केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उपसभामुखसहित कसैलाई पनि भिसा नदिएको भन्ने आरोपको उनले खण्डन गर्ने क्रममा गैरजिम्मेवारपूर्ण तर्क गरेकी हुन् ।

प्रेस वक्तव्य जारी गर्दै उनले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोजिएकोसमेत दाबी गरेकी छिन् ।

उक्त कार्यक्रममा आफ्ना सहयोगीसमेत हुने भएकाले अन्तर्वार्ताका लागि अनुरोध गरेको कारण आफूले अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि मिति राख्न मात्रै अनुरोध गरेको उनले बताएकी छिन् ।

‘उक्त कार्यक्रममा मेरो लागि सहयोगीसमेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिइदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको दूतावासलाई अन्तर्वार्ताको लागि मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ, ‘रानाले उल्लेख गरेकी छिन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ। मैले कसैको भिसाको लागि अनुरोध पनि गरेकी छैन। हैन।’

उनले विज्ञप्तिमा आजसम्म सम्मानित सदन र पदको गरिमामा आँच आउने गरी कुनै पनि काम नगरेको र नगर्ने पनि प्रतिवद्धता जनाउदै भनेकी छिन्, ‘‘उपसभामुखका रूपमा मैले अमेरिका लगायत अन्य देशमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा नेपालको प्रतिनिधित्व गर्दै समानता, सामाजिक न्याय र पिछडिएका वर्गको तर्फबाट निरन्तर आवाज उठाइरहेको जगजाहेर छ ।

रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्ल्यू ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वार्ताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको आलोचना मात्र होइन राजीनामा दिने दबाब पनि बढेको छ ।

रानाले दूतावासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङका लागि भिसा अन्तर्वार्ताको समय तत्काल उपलब्ध गराइदिन आग्रह गरेकी छिन् ।

उपसभामुख रानाले व्यक्तिगत रुपमा पत्र लेखेको र संसद सचिवालयसँग असम्बन्धित व्यक्तिहरुलाई भिसा अन्तर्वार्ताको लागि सिफारिस गरेकाले प्रश्न उठेको हो ।

रानाले रातो पासपोर्ट प्रयोग गर्ने हुनाले उनको हकमा भिसाका लागि समस्या नहुने भए पनि उनले सिफारिस गरेका व्यक्तिहरु संसद र संसद सचिवालयसँग सम्बन्धि नरहेपछि विभिन्न कोणबाट प्रश्न उठेको छ ।

तपाइँको प्रतिक्रिया