शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:३९ |सिड्नीको समय: ०७:३९ |काठमाडौंको समय: ०३:२४

नेपालको प्रधानमन्त्रीमा ओलीको कमब्याक

एएनजेड खबरजुलाइ १५, २०२४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त्त गरेका हुन् ।

यस अघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका थिए । कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबी पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अब शपथ भने सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपतिको कार्यालयले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ गर्ने गरी तयारी गरेको छ । ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस र एमाले सोमबार बिहान नै मन्त्रीहरुको पनि शपथ गराउने तयारीमा रहेका छन् ।

३ वर्ष ३ दिनपछि चौथो कार्यकालका लासग प्रधानमन्त्रीका रूपमा ओली सोमवार सिंहदरबार प्रवेश गर्दैछन् । नयाँ संविधान जारी भएलगत्तै २०७२ साल असोज २५ गते पहिलोपटक र २०७४ साल फागुन ११ गते ओली दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । नेकपा विभाजनपछि २०७८ वैशाख ३० गते ओली तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका थिए । दोस्रो कार्यकालको निरन्तरताको रूपमै ओलीको तेस्रो कार्यकाल छोटो थियो ।

संयोग कस्तो परेको छ भने २०७८ असार २८ गते सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट हटेका ओली तीन वर्षपछि असार २८ गतेकै दिन प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए । बालुवाटारबाट बालकोट पुगेका ओलीले ‘जनताले नभई अदालतमा मुद्दा हालेर’ हटाइएकोले सम्मानसाथ फेरि सिंहदरबार फर्किने घोषणा गरेका थिए । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा दोस्रो पार्टी बनेपछि सिंहदरबारमा पुग्ने एमालेको लक्ष पूरा हुन सकेन ।

ओलीसहित हालसम्म ६ जना कम्युनिस्ट नेता ११ पटक प्रधानमन्त्री भएका छन्। सबैभन्दा बढी (चारपटक) प्रधानमन्त्री बन्ने कम्युनिस्ट नेताको इतिहास ओलीले बनाएका छन्। दोस्रोमा पुष्पकमल दाहाल प्रचण्ड (तीनपटक)छन्।

तपाइँको प्रतिक्रिया