शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १०:०१ |सिड्नीको समय: ०८:०१ |काठमाडौंको समय: ०३:४६

कांग्रेस र एमालेबाट को को हुँदैछन् मन्त्री ?

एएनजेड खबरजुलाइ १४, २०२४

काठमाडौँ । नेपाली कांग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई मुख्य आधार बनाएर सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्ने भएको छ । शनिबार पार्टी मुख्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि योगदान र योग्यतामा आधारित मापदण्ड तय गरेको हो ।

योग्यता र योगदानलाई मुख्य आधार बनाएर प्रादेशिक सन्तुलन र समावेशिताको आधारमा सरकारमा जाने मन्त्रीहरू छनोट गर्ने निर्णय बैठकले परेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने, ‘नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमति भए अनुसार नेपालको संविधानको धारा ७६ (२) बमोजिम गठन हुने नेकपा (एमाले)का अध्यक्ष माननीय केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा २२ को उपधारा ११ बजेजिम सहभागी हुने यो बैठकले निर्णय गरेको छ । योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्रीहरू चयन गर्ने यो बैठकले निर्णय गरेको छ ।

कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम धमाधम बाहिर सार्वजनिक भइरहेको छ । तीन जनाको नाम लगभग टुंगो लागेको छ । कांग्रेसबाट अहिलेसम्म प्रकाशमान सिंह, रमेश लेखक र आरजु राणा देउवा मन्त्री बन्ने लगभग पक्का भएको कांग्रेस स्रोतको दाबी छ । जीवन परियार र अजय चौरासियाको मन्त्री बन्ने निश्चित भएको छ । दिपक खड्का र दाङका दिपक गिरीमध्ये एकलाई पठाउने तयारी छ ।

ओली नेतृत्वको सरकारमा कांग्रेसको भागमा ९ मन्त्रालय पर्ने मोटामोटी सहमति भएको छ । ‘कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ वटा मन्त्रालय पर्ने समझदारी छ । कर्णाली प्रदेशबाट मुगुका ऐनबहादुर शाही र सुर्खेतका हृदयराम थानीमध्ये एक जना मन्त्री बन्दैछन् । सहमहामन्त्री किशोर सिंह राठोर, विनोद चौधरी, उदय शमशेर राणा पनि मन्त्रीको दाबेदार छ् ।

यता, एमालेले नयाँ र पुराना गरी मिलाएर सरकारमा पठाउने तयारी गरेको छ । तर को को हुन् ती व्यक्तिहरु भन्ने अझै सार्वजनिक नगरी राखेको छ । एमालेले पार्टी अध्यक्ष एवं अबका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री छान्ने जिम्मेवारी दिइसकेको छ । खासगरी मधेसी महिला, जनजाति र दलितमा एमालेले एक जनालाई पठाउने तयारी गरेको छ ।

दलितबाट छविलाल विश्वकर्माको नाम टुंगो लागे पनि दोलखाका ईश्वरी रिजालले अवरोध गरिरहेका छन् । यदि दलितबाट मन्त्री बन्ने भएमा निर्वाचित सांसदसमेत रहेका विश्वकर्मा नै हुने बताइएको छ ।

यसैगरी अर्थमन्त्रीमा विष्णु पौडेललाई अघि सार्ने र यदि पौडेल जान नमानेमा डा युवराज खतिवडा वा सुरेन्द्र पाण्डेमध्ये एक जनालाई लैजाने र ६ महिनाका लागि अर्थमन्त्री बनाउने तयारी रहेको स्रोतको दाबी छ ।

यसैगरी सूचना तथा सञ्चार मन्त्रालयमा भने योगेश भट्टराईलाई पठाउने तयारी रहेको छ । यद्यपि भीम आचार्यले पनि रहर गरेका कारण यसमा पनि समस्या रहेको बताइएको छ । भूगोल, महिला, जनजाति र दलितलाई प्राथमिकतामा राखिएको बताइएको छ ।

महिलाबाट भगवती चौधरी, जुली महतो, विद्या भट्टराई, राष्ट्रिय सभामा रहेकी भगवती न्यौपानेको पनि चर्चा रहेको छ । पुरानो टिमबाट पदम गिरी र दामोदर भण्डारी दोहोरिन सक्ने संभावना रहेको छ ।

नयाँबाट यसपटक पृथ्वी सुब्बा गुरुङको संभावना रहेको छ । काठमाडौँबाट चुनाव जित्ने एकमात्र व्यक्ति कृष्णगोपाल श्रेष्ठ पनि यसपटक मन्त्रीको प्रमुख दावेदार हुन् । ओलीले कसलाई छान्छन् भन्ने हो मन्त्री बन्ने चाहना सबैको हुन्छ’, एमालेका एक पदाधिकारीले भने ।

यसपटक एमालेका प्रभावशाली नेताहरु महासचिव शंकर पोखरेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, पद्या अर्याल मन्त्रीबाट बाहिर रहने भएका छन् ।

उता मुख्यमन्त्री हुन नपाएका खगराज अधिकारी पनि संघीय सरकारमा आउने प्रणालीबाटै बाहिर रहे । ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्ति गरिने तयारी भएको छ । उनले आइतबार दिउँसो शपथ खानेछन् ।

तपाइँको प्रतिक्रिया