शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ११:५७ |सिड्नीको समय: ०९:५७ |काठमाडौंको समय: ०५:४२

‘रवि क्लब’मा मुकुलको विद्रोह : कब्जाबाट पार्टीलाई छुटाएरै छाड्ने

एएनजेड खबरजुलाइ १०, २०२४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा.मुकुल ढकालले रवि लामिछानेको कब्जाबाट पार्टीलाई छुटाएरै छोड्ने बताएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट नभई रवि लामिछाने क्लबबाट मात्रै निस्कषन गरिएको जिकिर गर्दै आफू अहिले पनि पार्टीको महामन्त्री नै रहेको बताए । उनले सहकारी प्रकरणमा सभापति लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धान हुनुपर्ने र त्यसका लागि पार्टीको केन्द्रीय समिति सदस्यहरूले स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गरे ।

उनले उनले दुई वटा राहदानीको विषयमा पनि पार्टीले लामिछानेउपर छानबिन समिति बनाउनुपर्ने माग गरे । छानबिन समितिमा स्वतन्त्र व्यक्ति राख्नुपर्ने बताए ।

उनले भने, ‘म अहिले पनि महामन्त्री छु र हो । मलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट होइन रवि लामिछाने क्लबबाट मात्रै निस्कषन गरिएको हो । म अहिले पनि गएर पार्टीको महामन्त्रीको जुन कुर्सी छ, त्यसमा बस्न सक्छु । रास्वपालाई रवि लामिछाने क्लबको रूपमा कब्जा गरिएको छ । पार्टी एलिडरको कब्जामा गइसक्यो । आज पार्टी कुनै एलिडको कब्जामा जाँदैमा, रवि लामिछानेको कब्जामा जाँदैमा पार्टीलाई माया गर्ने घण्टीवाहक साथीहरूले डराउनु पर्दैन । यो कब्जाबाट हामी थुत्छौँ । सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनेर सर्वोच्च अदालतले फैसला गरिसकेको छ । राय नैतिकताको छुट दिने की राजीनामा दिने भन्ने रायमा मात्रै मत बाझिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले अब पार्टीको धारणा बनाउनुपर्छ । त्यसका लागि स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनु पर्छ । त्यसमा स्वतन्त्र व्यक्तिलाई राख्नुपर्छ । संसद्को छानबिन समितिले पुग्दैन । पार्टीभित्रबाट रवि लामिछानेउपर छानबिन समिति बनाउनु पर्छ । पासपोर्टको सवालमा पनि स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ ।’

मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो । अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरे पनि केन्द्रीय समितिले उनलाई साधारण सदस्यबाट भने नहटाएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

केन्द्रीय समितिले ढकाललाई केन्द्रीय समितिको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन सक्ने निर्णय गरेको छ । असार २० गते बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई सात दिनका लागि महामन्त्री र प्रवक्तबाट निलम्बन गर्ने निर्णय गरेको थियो । जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

आफूलाई निलम्बन गरेपछि ढकालले भने आफुलाई स्पष्टीकरणकोसमेत अवसर नदिएर कारबाही गरेको गुनासो गरेका थिए । कारबाही गरेपछि डा.ढकालले आफू रवि लामिछाने क्लबबाट निस्काशित भएको प्रतिक्रिया दिएका छन् ।

आफूलाई हटाउने पार्टीको निर्णयपछि प्रतिक्रिया दिँदै ढकालले आफु रवि लामिछाने क्लबबाट निस्काशित भएको टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न नरोकिने बताएका छन् ।

उनले रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प नरोकिने बताएका हुन् । रास्वपाले ढकाललाई पदीय जिम्मेवारीबाट मुक्त गरेपनि साधारण सदस्यबाट भने हटाएको छैन ।

इलाम–२ मा सम्पन्न उपचुनावमा अपेक्षित नतिजा हासिल गर्न नसकेपछि रास्वपाले महामन्त्री ढकाललाई देशभर पुगेर जनमत लिन जिम्मेवारी दिएको थियो ।

देश दौडाहापछि पार्टीका बारेमा जनधारणा समेट्दै उनले प्रतिवेदन तयार पारे । जहाँ सभापतिको कार्यशैलीमाथि असन्तुष्टि रहेको र अहिलेको अवस्था कायम रहे २०८४ मा राष्ट्रिय पार्टी बन्न नसक्ने उल्लेख छ ।

पार्टी सभापति लामिछानेलाई महामन्त्री ढकालले जेठ ६ गतेबाट झन्डै एक महिना स्थलगत अध्ययन गरी दलभित्र र बाहिरका तीन हजार जनाभन्दा बढीसँग अन्तरक्रिया गरेर तयार पारेको प्रतिवेदन बुझाएका थिए ।

महामन्त्री ढकालले बुझाएको उक्त प्रतिवेदनमाथि छलफल हुने र पार्टीले आफ्नो धारणा बनाउने भनिएको केन्द्रीय समितिको बैठक मूल उद्देश्यबाट अर्कैतिर मोडिएर आन्तरिक कलहमा फसेको थियो । स्थलगत भ्रमणपछि तयार पारेको समीक्षा प्रतिवेदनको निष्कर्ष सुनाउने क्रममा महामन्त्री ढकालले घण्टीमा ‘कालो बादल मडारिएको’ उल्लेख गरेका थिए ।

उनले तल्लो स्तरबाट आफूले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा पनि काठमाडौँ महानगरका प्रमुख वालेन्द्र साह (बालेन) सहितका स्वतन्त्र मेयरसँग मिल्नका लागि सबैभन्दा उपयुक्त हुने सुझाव दिएका थिए ।

समीक्षा बैठकका सहभागीमध्ये लगभग दुईतिहाईले प्रदेश संरचना खारेज हुनुपर्छ भनी मत राखेका थिए । बाँकीले प्रदेश संरचना सुधारको मुद्दा उठाउनुपर्छ भनेका थिए । एकदमै नगन्य रुपमा संविधानमा उल्लेखित संरचनामै अघि बढ्नुपर्छ भनेका थिए ।

‘मेरो विचारमा पार्टीले इन्तु, किन्तु परन्तु केही नलगाई प्रदेश संरचना खारेजको मुद्दा उठाउनुपर्छ । पार्टीका सबै नेता प्रदेश खारेजका लागि मुखरित हुनुपर्छ र आगामी २०८४ वा हुन सक्ने मध्यावधि चुनाव (प्रदेशको चुनाव)मा भाग नलिने निर्णय गर्नुपर्छ । प्रदेश संरचनामा मात्र होइन, स्थानीय तहको संरचनामाथि पनि प्रश्नहरु उठ्न थालेका छन् । स्थानीय तहमा बेथितिहरु मौलाएका छन्’, मुकुलले दिएको सुझावमा उल्लेख छ । तर स्वतन्त्र भनिएको पार्टीमा महामन्त्रीलाई नै बोल्न नदिई कारबाही गरेर स्वतन्त्रताको पक्षलाई निरंकुशतातर्फ धकेलेको छ ।

पार्टीभित्र महामन्त्री ढकालले देखेका समस्याहरु यथार्थ र सही हुन सक्छन् भन्नेतर्फ रास्वपाले देखेन । उनले फिल्डमा गएर ल्याएका सुझाव र प्रतिक्रियाहरु गलत हुन् भन्न पनि सकेको छैन । तर पार्टीले उनको प्रतिवेदनउपर गम्भीर छलफल गर्नुको साटो उनीमाथि अनुशासनको डण्डा चलायो र औपचारिक रुपमै मंगलबारबाट कारबाही गरेर पार्टीबाटै बिदा गर्दैछ ।

प्रतिवेदन केन्द्रीय सदस्यहरुले पढ्न नपाउँदै महामन्त्री ढकालले मिडियामा छताछुल्ल पारेको र आन्तरिक समस्याहरुलाई सार्वजनिक गरेको, पार्टी बैठकमा मुखमा टेप टाँसेर बसेको, अनुशासनहीन र अराजक व्यवहार प्रदर्शन गरेको जस्ता आरोपहरु महामन्त्री ढकालमाथि लगाइएको छ ।

तपाइँको प्रतिक्रिया