शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १२:१२ |सिड्नीको समय: १०:१२ |काठमाडौंको समय: ०५:५७

रास्वपाभित्र खतराको घण्टी, मुकुलको प्रतिवेदनलाई गलत भन्ने आँट गरेन

एएनजेड खबरजुलाइ ९, २०२४

काठमाडौँ । नयाँ भनिएको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा.मुकुल ढकालमाथि अन्ततः कारबाही गर्ने निचोडमा पुगेको छ । पार्टीको अनुशासन आयोगले कारबाहीको तयारी गरेर मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा पेश गरेपछि उनीमाथिको कारबाही अघि बढ्नेछ ।

ढकालमाथि छानबिन गरी अनुशासन आयोगले प्रतिवेदन तयार पारिसकेको छ । उक्त प्रतिवेदन अनुशासन आयोगका प्रमुख डा.भरत देवकोटाले सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् ।

प्रतिवेदनबारे लामिछानेले आफू निकट रहेका डोलप्रसाद अर्याल लगायतसँग छलफल गरिसकेका छन् । सचिवालयको बैठकमा पनि औपचारिक छलफल गरिसकेका छन् । रास्वपाका एक केन्द्रीय सदस्यका अनुसार उनलाई मंगलबार कारबाही गरेर नयाँ महामन्त्री चयन गरिनेछ ।

पार्टीको विधानले कारबाही सम्बन्धी निर्णय लिन केन्द्रीय समितिको बैठक अनिवार्य गरेका कारण मंगलबारलाई बैठक राखिएको हो ।

गत मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई ७ दिन निलम्बन गरी आवश्यक छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो ।

केन्द्रीय समिति बैठक मंगलबार बिहान ८ बजे बोलाइएको छ । बैठकले नयाँ महामन्त्रीको जिम्मेवारी र केन्द्रीय प्रवक्ता पनि तोक्ने भएको छ ।

रास्वपाले ०७९ को चुनावमा प्रत्यक्षतर्फ ७ वटा र समानुपातिकतर्फ १३ गरी कुल २० सिटमा ऐतिहासिक जित हासिल गर्यो । पछि राष्ट्रपति रामचन्द्र पौडेलले छाडेको तनहुँको उपचुनावमा डा। स्वर्णिम वाग्लेले जितेपछि अहिले प्रतिनिधि सभामा रास्वपाका उपसभामुखसहित २१ सांसद छन् । खहरेजस्तो उर्लेर आएको अवस्थामा रास्वपाभित्र खतराको घण्टी बजेको छ ।

रास्वपाको केन्द्रीय समिति बैठकमा महामन्त्री डा। ढकालले तयार गरेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्ने भनिएको थियो । तर उक्त बैठकमा केन्द्रीय सदस्यहरू मूल विषयबाट टाढा पुगेर महामन्त्रीमाथि प्रहार गर्न थाले ।

महामन्त्री ढकाल टेप लगाएर बसेपछि केही केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका थिए । होहल्ला भएपछि सभापति लामिछानेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

त्यसपछि फेरि सभापतिले महामन्त्रीका गतिविधिलाई पार्टी अनुशासनको विषय बनाउने र अनुशासन आयोगले हेर्ने बताएपछि बैठक चालु गरी उनीमाथि नै केन्द्रीत गरेर ह्यारेसमेण्ट गरिएको थियो ।

महामन्त्रीले नबोलेपछि सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले डेढ घण्टा लगाएर समीक्षा प्रतिवेदन वाचन गरेका थिए । सरकारबाट बाहिरिएपछिको रणनीति के हुने, समीक्षा प्रतिवेदनका सन्दर्भमा आफ्नो बुझाइ के हो भनेर राख्ने भन्दा बढी महामन्त्रीको कार्यसम्पादन र कार्यशैलीलाई लिएर टिप्पणीमा उत्रिएका थिए ।

केही केन्द्रीय सदस्यले महामन्त्री पार्टीको विधि र अनुशासन विपरीत कामकारबाहीमा संलग्न रहेको भन्दै कारबाहीको माग राखेका थिए ।

महामन्त्रीले आफ्नो प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा अगाडि मिडियाबाजी गरेको भन्दै आलोचना भएको थियो । ढकाल दुई वर्षदेखि महामन्त्रीको रूपमा कार्यरत छन् ।

इलाम–२ मा सम्पन्न उपचुनावमा अपेक्षित नतिजा हासिल गर्न नसकेपछि रास्वपाले महामन्त्री ढकाललाई देशभर पुगेर जनमत लिन जिम्मेवारी दिएको थियो ।

देश दौडाहापछि पार्टीका बारेमा जनधारणा समेट्दै उनले प्रतिवेदन तयार पारे । जहाँ सभापतिको कार्यशैलीमाथि असन्तुष्टि रहेको र अहिलेको अवस्था कायम रहे २०८४ मा राष्ट्रिय पार्टी बन्न नसक्ने उल्लेख छ ।

पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई महामन्त्री ढकालले जेठ ६ गतेबाट झन्डै एक महिना स्थलगत अध्ययन गरी दलभित्र र बाहिरका तीन हजार जनाभन्दा बढीसँग अन्तरक्रिया गरेर तयार पारेको प्रतिवेदन बुझाएका थिए ।

महामन्त्री ढकालले बुझाएको उक्त प्रतिवेदनमाथि छलफल हुने र पार्टीले आफ्नो धारणा बनाउने भनिएको केन्द्रीय समितिको बैठक मूल उद्देश्यबाट अर्कैतिर मोडिएर आन्तरिक कलहमा फसेको थियो ।

स्थलगत भ्रमणपछि तयार पारेको समीक्षा प्रतिवेदनको निष्कर्ष सुनाउने क्रममा महामन्त्री ढकालले घण्टीमा ‘कालो बादल मडारिएको’ उल्लेख गरेका थिए ।

उनले तल्लो स्तरबाट आफूले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा पनि काठमाडौँ महानगरका प्रमुख वालेन्द्र साह (बालेन)सहितका स्वतन्त्र मेयरसँग मिल्नका लागि सबैभन्दा उपयुक्त हुने सुझाव दिएका थिए ।

समीक्षा बैठकका सहभागीमध्ये लगभग दुईतिहाईले प्रदेश संरचना खारेज हुनुपर्छ भनी मत राखेका थिए । बाँकीले प्रदेश संरचना सुधारको मुद्दा उठाउनुपर्छ भनेका थिए । एकदमै नगन्य रुपमा संविधानमा उल्लेखित संरचनामै अघि बढ्नुपर्छ भनेका थिए ।

‘मेरो विचारमा पार्टीले इन्तु, किन्तु परन्तु केही नलगाई प्रदेश संरचना खारेजको मुद्दा उठाउनुपर्छ । पार्टीका सबै नेता प्रदेश खारेजका लागि मुखरित हुनुपर्छ र आगामी २०८४ वा हुन सक्ने मध्यावधि चुनाव (प्रदेशको चुनाव) मा भाग नलिने निर्णय गर्नुपर्छ । प्रदेश संरचनामा मात्र होइन, स्थानीय तहको संरचनामाथि पनि प्रश्नहरु उठ्न थालेका छन् । स्थानीय तहमा बेथितिहरु मौलाएका छन्’, मुकुलले दिएको सुझावमा उल्लेख छ । तर स्वतन्त्र भनिएको पार्टीमा महामन्त्रीलाई नै बोल्न नदिई कारबाही गरेर स्वतन्त्रताको पक्षलाई निरंकुशतातर्फ धकेलेको छ ।

पार्टीभित्र महामन्त्री ढकालले देखेका समस्याहरु यथार्थ र सही हुन सक्छन् भन्नेतर्फ रास्वपाले देखेन । उनले फिल्डमा गएर ल्याएका सुझाव र प्रतिक्रियाहरु गलत हुन् भन्न पनि सकेको छैन । तर पार्टीले उनको प्रतिवेदनउपर गम्भीर छलफल गर्नुको साटो उनीमाथि अनुशासनको डण्डा चलायो र औपचारिक रुपमै मंगलबारबाट कारबाही गरेर पार्टीबाटै बिदा गर्दैछ ।

प्रतिवेदन केन्द्रीय सदस्यहरुले पढ्न नपाउँदै महामन्त्री ढकालले मिडियामा छताछुल्ल पारेको र आन्तरिक समस्याहरुलाई सार्वजनिक गरेको, पार्टी बैठकमा मुखमा टेप टाँसेर बसेको, अनुशासनहीन र अराजक व्यवहार प्रदर्शन गरेको जस्ता आरोपहरु महामन्त्री ढकालमाथि लगाइएको छ ।

तपाइँको प्रतिक्रिया