शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १२:०९ |सिड्नीको समय: १०:०९ |काठमाडौंको समय: ०५:५४

मदिराका कारण बर्सेनि करिब २६ लाख मानिसको मृत्यु

एएनजेड खबरजुन २६, २०२४

एजेन्सी । मदिराका कारण बर्सेनि करिब २६ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मदिरा र स्वास्थ्यसम्बन्धी राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा मदिरा सेवन गरेर सवारी चलाउने, मदिरा–प्रेरित हिंसा र दुर्व्यवहार तथा रोग र विकारका कारण प्रत्येक वर्ष मानिसको मृत्यु हुने गरेको हो । विश्वस्तरमा हुने २० मृत्युमा करिब एकको मृत्यु मदिराका कारण हुने बताइएको छ।

पछिल्लो आँकडाअनुसार सन् २०१९ मा २६ लाख मृत्यु मदिरा सेवनका कारण भएको प्रतिवेदनमा उल्लेख छ। सो वर्ष विश्वभरमा भएका सबै मृत्युको चार दशमलव सात प्रतिशत थियो। यसमा करिब तीन–चौथाई मृत्यु पुरुषहरूको भएको थियो।

सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा मदिराका कारण हुने मृत्युको उच्चतम अनुपात १३ प्रतिशत रहेको डब्लुएचओले बताएको छ।

मदिरा सेवनको सम्बन्ध कलेजो सिरोसिस र केही क्यान्सरजस्ता धेरै स्वास्थ्य अवस्थासँग जोडिएको छ। सन् २०१० मा यसबाट हुने सबै मृत्युमध्ये करिब १६ लाख गैरसङ्क्रामक रोगहरूबाट भएको पत्ता लागेको प्रतिवेदनमा उल्लेख छ।

यीमध्ये चार लाख ७४ हजार हृदयरोग, चार लाख एक हजार क्यान्सर तथा सवारी दुर्घटना र स्वयंलाई हानि गर्नेजस्ता चोटपटकबाट सात लाख २४ हजारको मृत्यु भएको थियो।

तपाइँको प्रतिक्रिया