मंगलबार, असोज १, २०८१ |Tue Sep, 2024
अक्ल्याण्डको समय: ०७:१२ |सिड्नीको समय: ०५:१२ |काठमाडौंको समय: ००:५७

एनआरएनए अष्ट्रेलिया अब आफ्नै भवनमा, पाँच लाख ८८ हजार डलरमा भवन खरिद

एएनजेड खबरजुन १५, २०२४

सिड्नी । गैरआवासीय नेपाली संघ(एनआरएनए) अष्ट्रेलियाले सिड्नीमा आफ्नै कार्यालय भवन खरिद गरेको छ । भवन खरिदसँगै एक समारोहबीच संचालनमा ल्याइएको छ । बिहीबार न्यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्सले एक समारोहकाबीच वैदिक मन्त्रोच्चारणका साथ कार्यालयको उद्घाटन गरे ।

भवन खरिदका लागि २ लाख १० हजार डलर सरकारी अनुदान र समुदायबाट संकलित रकमबाट कुल पाँच लाख ८८ हजार डलरमा भवन खरिद गरिएको अध्यक्ष अनिल पोखरेलले जनाएका छन् । भवनमा एनआरएनए अष्टे«ेलियाको प्रशासनिक र अन्य कार्यहरु सञ्चालन गरिने उनले जनाए ।

समारोहमा बोल्दै प्रमुख अतिथि न्यूसाउथवेल्सका प्रिमियर मिन्सले नेपाली समूदायको खुलेर प्रशंसा गर्दै अष्ट्रेलियालाई आफ्नो घर बनाउन सफल सबै नेपालीहरुलाई बधाई दिए । त्यस्तै अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले सबै नेपालीका लागि यो गर्वको विषय भएको र एनआरएन अष्ट्रेलियासँग विगतमा झै हातेमालो गर्दै काम गर्न नेपाल सरकार, नेपाली दूतावास तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

एनआरएनका अध्यक्ष पोखरेलले एनआरएन अभियानमा साथ दिने सबैलाई धन्यवाद दिंदै समूदायको एकता र साथले नै यो कार्य सफल गर्न सकिएको धारणा राखे । कार्यक्रममा न्यूसाउथवेल्सको संसदमा गठन गरिएको पार्लियामेन्ट्री फ्रेन्डस अफ नेपालकी कोचेयरद्वय जुलिया फिन, जाक्वी मुनरो, परामाटाको प्रतिनिधित्व गर्दै सांसद डोना डेविसले पनि शुभकामना दिएका थिए ।

अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटाले सन् २००५ देखिको एनआरएन अभियानले एउटा नयाँ कोशेढुंगा थपेको बताए । समारोहमा एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्षहरु मन केसी, गोवा कटवाल, ध्रुव सुवेदी, गणेश केसी, महेन्द्र ओली, सुरेन्द्र सिग्देल, टोनु घोताने, केशव कँडेलले पनि शुभकामना मन्तव्य दिए ।

मेरिल्याण्ड्समा रहेको कार्यालय भवनको साँचो अध्यक्ष पोखरेलले न्यूसाउथवेल्स संयोजक विनोद कुँवर र नारी निकुञ्ज अष्ट्रेलियाकी अध्यक्ष संगीता चपागाईंलाई हस्तान्तरण गरेका थिए । कार्यालयमा आफ्नै बेडरुम साथै ५० जनासम्म बसेर एकैपटक कार्यक्रम गर्नसकिने हल रहेको छ ।

तपाइँको प्रतिक्रिया