शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १४:४५ |सिड्नीको समय: १२:४५ |काठमाडौंको समय: ०८:३०

कोरियामा रहेका नेपालीहरुको संस्था सोनसिकले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

एएनजेड खबरजुन १५, २०२४

काठमाडौं । दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीहरुको संस्था सोनसिकले अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । त्यहाँको नामसेउल विश्वविद्यालयको सहकार्यमा हुन लागेको सम्मेलनलाई दक्षिण कोरियामा रहेको नेपाली राजदूतावासले पनि सहयोग गरेको शुक्रबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

सहकार्यपूर्ण नेतृत्वः दिगो विकासका लागि अन्तर विषयगत नवप्रवर्तन र वैद्दानिक उत्कृष्टताको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ हुन लागेको सम्मेलनमा विभिन्न व्यक्तित्वहरुको सहभागिता हुने छ । १५ र १६ जुनमा हुने उक्त कार्यक्रमको तयारी पूरा भएको पनि आयोजक संस्था सोनसिकले जनाएको छ ।

कार्यक्रमलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ, नेपाली राजदूता प्राध्यापक डा.ज्योति प्याकुरेल, नामसेउल विश्वविद्यालयका अध्यक्ष, प्रोफेसर डाक्टर युन सुङ योङ र स्टडी इन कोरिया सेन्टर, राष्ट्रिय अन्तर्राष्ट्रिय शिक्षा संस्थानका टिम निर्देशक प्रोफेसर डाक्टर किम ना युनको सहभागिता हुनेछ ।

यसैगरी सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका जैविप्रविधि विशेषज्ञ प्रोफेसर डाक्टर निरञ्जन पराजुलीले ‘साझा दिगो भविष्यतर्फको यात्रा’ र सेजोंग विश्वविद्यालय दक्षिण कोरियाका सह प्राध्यापक डाक्टर लेविस एन्केन्येरेले ‘दिगो विकासका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरुको रोजाईः एआई र साइबर सुरक्षाको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

यसैगरी अध्ययनका लागि दक्षिण कोरियामा अवसर र चुनौतीहरुका बारेमा सुजन शाक्यको पनि प्रस्तुती रहने पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक किरण सुवालले जानकारी दिए ।

सोनसिक २००४ सालमा स्थापना भएको संस्था हो । अहिले हुन लागेको सम्मेलन दशौं संस्करण रहेको छ । २००७ देखि इपिएस कोरियामार्फत कामदारहरु जान थालेपछि कोरिया अध्ययनका लागि भन्दा पनि श्रम गन्तव्यका रुपमा परिचित भएकाले यस्ता कार्यक्रमले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अहिले दक्षिण कोरियामा झण्डै साढे ६ हजार नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको पनि जनाइएको छ । कोरियाले उच्च शिक्षाका लागि छात्रबृत्ति पनि प्रदान गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया