शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १४:४७ |सिड्नीको समय: १२:४७ |काठमाडौंको समय: ०८:३२

सिक्किममा ‘गोले युग’ सुरु : २५ बर्षपछि बढारिए पवन चाम्लिङ

एएनजेड खबरजुन १२, २०२४

काठमाडौँ । भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले नेपाली भाषामा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । गान्तोकको पालजोर स्टेडियममा उनले सिक्किमको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि शपथग्रहण गरेका हुन् ।

शपथ ग्रहण समारोहमा गोलेलाई सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । उनीसँगै मन्त्री परिषद्का ११ जना मन्त्रीहरूले पनि शपथ ग्रहण गरे ।

विधायक सोनाम लामा, अरुणकुमार उप्रेती, साम्दुप लेप्चा, भीमहाङ लिम्बू, भोजराज राई, जीटी ढुङ्गेल, पुरनकुमार गुरुङ, पिन्ट्सो नामग्याल लेप्चा, नर बहादुर दहाल, राजु बस्नेत र छिरिङ थेण्डुप भुटियाले मन्त्रीका रूपमा शपथ ग्रहण गरे ।

सिक्किममा गत १९ अप्रिल २०२४ मा सम्पन्न विधान सभा चुनावमा गोलेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले ३२ सिटमध्ये ३१ सिटमा जीत हासिल गरेपछि गोलेको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।

शपथग्रहणपछि बोल्दै मुख्यमन्त्री गोलेले आफू सरकारमा आएपछि सिक्किम–नेपालको सम्बन्ध बिस्तार गर्न धेरै पहलहरू भएको बताए । उनले चिवा भञ्ज्याङ् सीमालाई सुचारु गराउन सिक्किम तर्फको सडक निर्माण लगायतमा कामहरू बाँकी रहेको बताए ।

यता, २५ वर्ष सिक्किमको शासन चलाएर एक कार्यकाल सत्ताबाहिर रहेका पवन चाम्लिङलाई यसपालिको चुनावबाट पूर्ण रुपमा बढारिएका छन् । उनकै पूर्वसहकर्मी गोलेको पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)ले एकबाहेक सबै सिट जित्दा चाम्लिङको पार्टी सिक्किमबाट बढारिएको हो । नतिजाले धेरैलाई चकित तुल्याएको छ । किनकि उनले चाम्लिङको पार्टीलाई यसरी बढार्लान् भन्ने आशा कमैले गरेका थिए। किनकि चुनावअघि दुई पार्टीबीच कडा टक्कर हुने आकलन थियो। चुनावअघि उनीहरू एकअर्काविरुद्ध आरोपप्रत्यारोपमा उत्रिएका थिए।

गोले पहिले चाम्लिङकै पार्टी एसडीएफका असन्तुष्ट नेता थिए। २०१३ मा उनले सो पार्टी छाडे। पार्टीभित्र कृपावादका विषयमा नेतृत्वसँग उनको मनमुटाव चलिरहेको थियो।

चाम्लिङलाई बुझाएको आफ्नो राजीनामा पत्रमा तामाङले पार्टी चाम्लिङको ‘निजी सम्पत्ति नभएको’ उल्लेख गरेका थिए। एसडीएफ नातावाद, कृपावाद, साम्प्रदायिकता र शोषणबाट जनतालाई बचाउन स्थापना गरिएको भन्दै उनले लेखेका थिए, ‘तर, तपाईंको नेतृत्वमा यो पार्टी तपाईंको र शोषकहरूको मात्र स्रोत बन्यो। सिक्किमे जनताप्रतिको यो अन्याय महसुस गरेर म यो राजीनामा पत्र लेख्दैछु।’

उनले चाम्लिङको शासन भ्रष्टाचारको आहालमा डुबेको आरोप लगाएका थिए। २०१३ मा पार्टी पार्टी छाड्नुअघि पनि तामाङले चाम्लिङसँग टक्कर लिएका थिए। त्यतिबेला उनी पशुपालनमन्त्री थिए। पार्टी छाडेपछि गठन गरेको एसकेएमबाट उनले २०१४ को चुनाव लडे। दुई सिटमा उठेका उनी एक सिटमा हारे। उनको पार्टीले १० सिट जित्यो।

२०१९ मा उनले १७ सिट जित्दै पार्टीलाई बहुमत दिलाए र चाम्लिङको शासन अन्त्य गरे। जितेको सिटका अलावा यो चुनावमा एसकेएमको मुख्य उपलब्धि भनेको चुनावक्षेत्रपिच्छे बढेको मत प्रतिशत हो। यो चुनावले सिक्किममा गोले लहर चलेको देखाउँछ। रेन्चोक क्षेत्रमा गोलेले ६४.५४ प्रतिशत मतका साथ जितेका हुन् ।

२०१९ देखि २०२४ सम्म शासन गर्दा गोलेले रोजगारीको क्षेत्रमा काम गरेर जनताको मन जितेका थिए। मुख्यमन्त्रीका रुपमा उनले हजारौँ रोजगारी वितरण गरेका थिए। अस्थायी कर्मचारीलाई स्थायी गरेका थिए र स्थायी नोकरीमा भएकाहरूलाई पनि बढुवा गरेका थिए।

त्यसका अलावा, सिटिजन एक्सन पार्टी र भारतीय जनता पार्टीले पनि केही मत प्राप्त गरेका छन्। उनीहरूले मत काटेको हुनाले एसडीएफ धेरै ठाउँमा पराजित भएको आलकन पनि गरिएको छ।

जितपछि गोलेले जनताको माया र विश्वासका कारण यति ठूलो जित हात पारेको बताए। आउँदो पाँच वर्षमा सिक्किमका जनतालाई खुशी तुल्याउने उनको बचन छ । उनले आफ्नो पार्टीलाई बलियो बन्न सघाएको भन्दै विपक्षी चाम्लिङको पार्टीलाई पनि धन्यवाद दिए।

चुनावले सिक्किममा पुरानो युग अन्त्य गरेको छ। जुन युग १९९४ मा सुरु भएको थियो। त्यो वर्ष चाम्लिङ सत्तामा आएका थिए। २०१९ मा चुनाव हारे पनि चाम्लिङको पार्टी यसरी बढारिएको थिएन। तर, यसपटक पार्टी मात्र हारेन, आफू उठेका दुवै सिट चाम्लिङ पनि पराजित भए।

चाम्लिङको पार्टीबाट चुनाव जित्ने एक मात्र उम्मेदवार तेन्जिङ नोर्बु लाम्था हुन्। उनी पनि गोलेकै पार्टीका नेता थिए। चुनावमा टिकट नपाएपछि उनले दलबदल गरेका थिए। भविष्यमा उनले पनि चाम्लिङको साथ छाडे भने आश्चर्य मान्नु पर्दैन। त्यसो भयो भने सिक्किम विपक्षीविहीन हुनेछ।

सन् १९७५ सम्म सिक्किम एक भिन्नै राज्य थियो । सिक्किम भारतमा विलय भएको ५० वर्ष पुग्न लाग्यो । यसबीच त्यहाँ ६ जना मात्र मुख्यमन्त्री भएका छन् । काजी लेन्डुप दोर्जी सिक्किमका पहिलो मुख्यमन्त्री थिए । दोस्रो मुख्यमन्त्री नरबहादुर भण्डारी थिए । उनको कार्यकाल भने करिब १५ वर्षको थियो । सन् १९८४ मा भारतीय राष्ट्रिय कांग्रेसका भीमबहादुर गुरुङ १४ दिन मुख्यमन्त्री भएका थिए ।

त्यसपछि पवनकुमार चाम्लिङको युग सुरु भयो । चाम्लिङ सन् १९९४ देखि सन् २०१९ सम्म पाँचपटक र २५ वर्ष मुख्यमन्त्री रहे । चाम्लिङको नामका भारतमा सबैभन्दा लामो समय मुख्यमन्त्री हुने रेकर्ड बन्यो । अब सिक्किम राजनीतिमा लेन्डुप दोर्जे, नरबहादुर भण्डारी र पवनकुमार चाम्लिङले आआफ्नो युग बनाए । दोस्रो शानदार जितपछि अब ‘गोले युग’ सुरु मात्रै भएको छैन बलियो पनि बन्दै गएको छ । सिक्किमे जनताले छिटोछिटो नेता र पार्टी परिवर्तन गर्नुभन्दा दीगो र स्थिर शासकको चाहना राखेको देखिन्छ । सिक्किमको जनसंख्या करिब ६ लाख १० हजार मात्र छ ।

तपाइँको प्रतिक्रिया