शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १८:५७ |सिड्नीको समय: १६:५७ |काठमाडौंको समय: १२:४२

बुद्ध जयन्ती र उँभौली पर्व एकसाथ मनाइँदै

एएनजेड खबरमे २३, २०२४

काठमाडौँ । आज(विहीबार) शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।

आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको पूजा र आराधना गरि बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्वमा शान्ति स्थापना गर्न गरेको योगदानका लागि स्मरण गर्दै यो पर्व मनाउने गरिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिपूर्वक बुद्धजयन्ती मनाउने गर्दछन् । भगवान् गौतम बुद्धले ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ जस्ता थुप्रै सन्देशहरु प्रवाह गर्नु भएको छ । यसैले आजको दिनमा शान्तिको कामना गर्दै देशभर बुद्धको २५६८ औँ जयन्ती मनाइँदैछ ।

त्यस्तै, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।

तपाइँको प्रतिक्रिया