शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १९:०७ |सिड्नीको समय: १७:०७ |काठमाडौंको समय: १२:५२

मिलेमतोमा संसद्‌लाई ब्यारेक बनाइयो

एएनजेड खबरमे २२, २०२४

काठमाडौँ । नेपाली कांग्रेसले सभामुख र सत्तारुढ दलहरूको मिलेमतोमा संसद्‌लाई ब्यारेक बनाइएको आरोप लगाएको छ । सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेर संसद बैठकमा नाराबाजी गरिरहेको नेपाली कांग्रेसले सभामुख र सत्तारुढ दलहरूको मिलेमतोमा संसद्‌लाई ब्यारेक बनाइएको आरोप लगाएको हो ।

मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेसका सांसदहरूले सत्ताले संसद्‌लाई ब्यारेक बनाएको बताएका हुन् । उनीहरूले संसद्‌लाई ब्यारेक जस्तो बनाएर सभामुखले आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यासको बर्खिलापमा बैठक सञ्चालन गरेको पनि बताएका छन् । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले संसद्‌मा बल प्रयोग गरेर लोकतन्त्रका मूलभूत मूल्य र मान्यतामाथि प्रहार गरिएको बताए ।

उनले सत्तापक्षबाट संविधान र संघीय शासन प्रणालीमाथि नै धावा बोल्ने काम भएको जिकिर गरे । उनले प्रतिपक्ष दलको अवरोध भइरहँदा संसद बैठक सञ्चालन हुनु भर्त्सनायोग्य भएको भन्दै सरकारको यस कदमको प्रतिरोध गरिने बताए । उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन भएको प्रस्ताव संसद्‌मा नआएसम्म आफूहरूको अवरोध जारी रहने पनि बताए । सांसद पाण्डेले गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक २०८० संसद्‌बाट फिर्ता लिनुको आशय दलहरू फुटाउनलाई सहजता प्रदान गर्नु रहेको बताए ।

उनले भने – ‘संसद्‌लाई ब्यारेक बनाउनका लागि सत्ताले बाटो लिइसकेको हामीलाई महसुस भएको छ । सदन विचार र सिद्धान्तकै द्वन्द्वात्मक थलो हो । तर यसलाई बाहुबलको थलो बनाउने, बल प्रयोग गर्ने कुराले लोकतन्त्रका मूलभूत मूल्य र मान्यतामाथि प्रहार गरेको छ । यो व्यवस्था र संविधानमाथि नै प्रश्न चिन्ह लगाउने, एउटा सहकारी ठगलाई जोगाउनका लागि लोकतन्त्रको मूल्य, मान्यतामाथि धावा बोल्ने । हाम्रो संविधानमाथि धावा बोल्ने र हाम्रो संघीय शासन प्रणालीमाथि धावा बोल्ने काम सत्ताबाट जुन भएको छ, त्यो भर्त्सनायोग्य छ । यसको हामी आगामी दिनमा थप प्रतिरोध गरेर जान्छौँ । हाम्रो प्रतिरोध विचारकै आधारमा, सिद्धान्तकै आधारमा, सभ्यतामा आधारित नै हुन्छ । तर त्यसलाई कमजोरी ठान्दै सरकार अगाडी बढ्यो भने हामीले इटको जवाफ पत्थरले दिनुपर्ने हुनसक्छ । म सरकारलाई सचेत गराउन चाहन्छु । हाम्रो अवरोध सहकारी पीडितले न्याय नपाएसम्म, सहकारीका बचतकर्ताहरूले बचत फिर्ता पाउने सुनिश्चितता नभएसम्म, संसदीय छानबिन समिति गठन भएको प्रस्ताव संसद्‌मा नआएसम्म हाम्रो सदन भित्रको कारबाही निरन्तर रहन्छ । राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक २०८० फिर्ता लिनुको आशय दलहरू फुटाउनलाई सहजता दिने गरी त्यो विधेयक फिर्ता गरिएको छ । यसबाट के बुझिन्छ भने नयाँ आएका राजनीतिक दलहरू राजनीतिक स्थिरता, सुशासन चाहन्छौँ भन्ने कुराबाट व्यक्तिगत रूपमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी स्वतः च्युत भएको छ । यो कुराले उहाँहरूको नियत के हो भन्ने कुरा पनि छर्लङ्ग भएको छ ।’

नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सभामुखले संसद्‌लाई ब्यारेकजस्तो बनाएर आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यासको बर्खिलापमा जबरजस्ती बैठक सञ्चालन गरेको बताए । उनले संसदीय छानबिन समिति बनाउने कुरामा अलमल गरेर एमाले अध्यक्ष केपी ओलीले खेल खेलिरहनुभएको बताए । उनले अवरोधका बीच संसद बैठक चलाउनुले संसदीय परम्परामाथि कालो धब्बा लागेको पनि बताए ।

उनले भने – ‘संसद होइन ब्यारेक जस्तो बनाएर सभामुखले आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा, संसदीय अभ्यासको बर्खिलापमा जबरजस्ती सञ्चालन गर्न खोज्नुभएको छ । यो राम्रो बाटोमा गइराखेको छैन । हामी संसदीय समिति नबनेसम्म संसद्‌लाई अगाडी जान दिने स्थितिमा छैनौँ । समिति बनाउने कुरामा, टिओआर बनाउने कुरामा अलमल गरेर केपी ओलीजीको पनि आफ्नो खेल छ । सरकार आफ्नो ढङ्गले अगाडी बढिरहेको छ । हामीलाई के लागिराखेको छ संसदीय परम्परामाथि नै कालो धब्बाको रूपमा उहाँहरूले सदनलाई लिएर गइराख्नुभएको छ, यो दुर्भाग्यपूर्ण छ ।’

नेपाली कांग्रेसकै सांसद रामहरि खतिवडाले संसद बैठकमा सभामुखको कामप्रति नेपाली कांग्रेसको विरोध रहेको बताए । उनले गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी९दोस्रो संशोधन० विधेयक २०८० फिर्ता लिएर अध्यादेश ल्याइ पार्टीहरू फुटाउनेतिर लाग्न लागेको आरोप लगाए ।

उनले भने – ‘नयाँ पार्टी भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षले संसद्‌मा आएको विधेयक फिर्ता गरे । यो आपत्तिजनक छ । अब अध्यादेशबाट ल्याएर उहाँहरु पार्टी फुटाउनेतिर लाग्दै हुनुहुन्छ । यो घोर आपत्तिजनक छ । सभामुखको कामप्रति नै हाम्रो विरोध थियो ।’

नेपाली कांग्रेसकि सांसद कल्पना चौधरीले संसद बैठक स्थलमा मर्यादापालकहरुले सांसदहरुलाई अमर्यादित व्यवहार गरेका बताइन् । उनले मर्यादापालकहरुको संख्या बढाएर कांग्रेसका सांसदहरूमाथि आक्रमण गर्न लगाइएको बताइन् । उनले प्रधानमन्त्री स्वयं आफूहरुमाथि जाइलाग्न खोजेको आरोप पनि लगाइन् ।

उनले भनिन् – ‘मर्यादापालकहरु मर्यादामा रहेर सुरक्षा गर्ने न हो । तर मर्यादापालकहरुलाई प्रयोग गरेर, संख्या बढाएर हामीमाथि आक्रमण गर्न लगाएको छ । मलाई घाइते बनाएको छ । प्रमाण हेर्नुस्आ(फ्नो हात देखाउँदै) । प्रधानमन्त्री आफैँ सिधै जाइलाग्न खोज्ने जस्तो पनि गरे । मर्यादापालकहरुलाई अगाडी राखेर हामीमाथि प्रहार भयो । हामीमाथि अत्याचार भइराखेको छ । जनताको आवाजलाई लिएर, जनताको न्यायको लागि हामी अगाडी बढ्दा खेरी हामीलाई दबाउने काम गरिएको छ । हाम्रो घाँटीमा निमोठ्ने काम गरिएको छ । तर हामी पछाडि पर्दैनौँ । दमन गरिराखेको छ ।’

तपाइँको प्रतिक्रिया