शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १८:३४ |सिड्नीको समय: १६:३४ |काठमाडौंको समय: १२:१९

विदेशमा जोखिममा परेका श्रमिकलाई उद्धार गर्नका लागि छुट्टै कोष

एएनजेड खबरमे २१, २०२४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले गैरकानुनी माध्यमबाट वैदेशिक रोजगारीमा गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्नका लागि छुट्टै कोष स्थापना गर्ने तयारी गरिएको बताएका छन् । शनिबार सुर्खेतमा आयोजित पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

हालको व्यवस्था अनुसार श्रम मन्त्रालयले श्रम स्वीकृति लिएर जाने श्रमिकलाई मात्रै उद्धार गर्दे आएको छ । विदेशमा जाने श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको कोष मार्फत जोखिममा परेका यस्ता श्रमिकको उद्धार गरिदै आएको छ ।

तर, गैरकानुनी रुपमा गएका श्रमिकलाई उद्धार गर्ने कोष भने सरकारसँग छैन । “गैरकानुनीमा रुपमा गएका श्रमिक पनि नेपाली नागरिक नै हुन् । उनीहरुको उद्धार गर्नु सरकारको दायित्व हो । त्यसैले छुट्टै कोषको व्यवस्था गर्नका लागि आगामी बजेटमा व्यवस्था गर्न अर्थमन्त्रालयसँग प्रस्ताव गरेका छौ,” उनले भने ।

त्यस्तै, वैदेशिक रोजगारीको नाममा ठगिएमा तुरुन्तै सम्बन्धित निकायमा उजुरी गर्न श्रममन्त्री अर्यालले आग्रह गरेका छन् । “वैदेशिक रोजगारीको नाममा ठगिएमा वैदेशिक रोजगार विभागमा तुरुन्तै उजुरी दिनुहोस् । त्यो सम्भव भएन भने पनि हाम्रो सचिवालयमा ठगी गरेको संस्था वा व्यक्तिको विवरण टिपाउनु होस,” उनले भने । ठगी गर्ने व्यक्ति वा संस्थालाई निमर्म भएर कारवाही गरिनेछ । छलफलमा पत्रकारहरुको प्रश्नको जवाफ दिदै मन्त्री अर्यालले मन्त्रालयले अगामी दिनमा श्रमिकलाई अनिवार्य रुपमा सीप तालिमको व्यवस्था गरिने, रोजगार बैक स्थापना गरिने, भारतमा जाने श्रमिकको तथ्यांक संकलन गरिने जानकारी दिए ।

श्रममन्त्री अर्याल राजनीतिमा प्रवेश गर्नु अघि नै कर्णालीको जनजीवनसँग नजिक छन् । उनकै नेतृत्वमा कालीकोटमा २५ बेड क्षमताको अस्पताल निर्माण गरिएको थियो । जसलाई ५० बेडमा स्तरउन्नती गर्न सकिन्छ । कर्णालीमा अथाहा सम्भावना छ । यही सम्भावनालाई अवसरमा परिवर्तन गर्नुपर्ने समय आएको उनले बताए ।

तपाइँको प्रतिक्रिया