शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १९:३८ |सिड्नीको समय: १७:३८ |काठमाडौंको समय: १३:२३

संसदमा असहज परिस्थिति : धकेलाधकेल र नाराबाजी

एएनजेड खबरमे १७, २०२४

काठमाडौं । बिहीबार प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षबीच धकेलाधकेलको अवस्था सिर्जना भयो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक सुरु हुनेबित्तिक्कै वेल घेराउ गर्‍यो । उनीहरूले सहकारी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरेका थिए ।

प्रतिपक्षको वेल घेराउ हुँदैगर्दा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र वाचन गरे । सभामुखले जबर्जस्ती कार्यसूचीमा प्रवेश गरेपछि राप्रपा, जसपा नेपाल र लोसपाका सांसदहरू पनि आसनबाट उठे र टेबल ठोके । तर सभामुख रोकिएनन् । उनले प्रतिक्षपका सांसदहरूलाई आसनग्रहण गर्न आग्रह गरिरहे । केही समयको अन्तरमा राष्ट्रपति कार्यालयबाट आएको दुईवटा पत्र वाचन गरे ।

त्यसपछि उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिए । गृहमन्त्री उठेर रोस्ट्रम जान सक्ने अवस्था थिएन । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका सबै सांसदहरू उठेर अगाडि बढे । अध्यक्ष ओली अघि लागेपछि एमाले प्रमुख सचेतक महेश बर्तौला ओलीलाई सुरक्षा गर्ने र बाटो खाली गराउने शैलीमा प्रतिपक्ष र एमाले सांसदहरूको बीचमा प्रवेश गरे ।

एमाले सांसदहरू ठाकुर गैरे, रघुजी पन्त, सूर्य थापालगायत प्रतिवादमा उत्रिएका थिए । त्यसपछि संसदमा धकेलाधकेल भएको थियो । कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ चर्को नाराबाजी गरिरहेका थिए । त्यतिबेला एमाले अध्यक्ष ओलीसँग उनको आमनेसामने परेको थियो ।

हुन त बुधबार नै एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कांग्रेसविरुद्ध सदनमै प्रतिवाद गर्ने चेतावनी दिएका थिए । ‘कांग्रेस बोल्दा हामीले सुन्नुपर्ने, हामीले बोल्दा कांग्रेस कराउने रु कहाँ हुन्छ त्यो रु कांग्रेसलाई बोल्न दिइँदैन अब,’ ओलीले भनेका थिए, ‘पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ । होइन भने हामी बोल्छौँ । कांग्रेसले बकवास गरिरहने अनि हामीले सुनिरहनुपर्ने हुँदैन । हामी चुप लागेर बसेका छौँ भनेर हाम्रो बोली छैन भन्ने कांग्रेसले नबुझे हुन्छ ।’

बिहीबारको बैठकमा यस्तै भयो । प्रतिपक्ष वेल घेराउमा पुगेको बेला आसनबाट उठेर ओलीले प्रतिपक्षीलाई चिढ्याए ।सुरुमा प्रतिपक्षको विरोधकै बीच सदनको कारबाही अघि बढाएका सभामुख घिमिरेले स्थिति असहज हुने देखिएपछि तत्कालै बैठक स्थगित गरेर सम्भावित दुर्घटना रोके ।

उता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख घिमिरे एमालेको निर्देशनमा अघि बढेको आरोप लगाएको छ । एमाले पृष्ठभूमिबाट सभामुख भएका घिमिरे एमालेको इशारामा चलेको आरोप कांग्रेसको छ । ‘तलबाट नेताहरूले अगाडि बढा भन्ने माथि सभामुखले अगाडि बढाउने, विपक्षी दल वेलमा निस्किएको छ, अन्य दलका नेताहरू पनि आफ्नो सिटबाट उठिरहेका छन् । त्यसका बाबजुद उहाँले सभा सञ्चालन गर्न थाल्नुभयो । त्यो चाहिँ हाम्रो संसदीय इतिहासमा अनौँठो कुरा हो । यो संसदीय विधिको बर्खिलाप हो,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले संसद बैठकपछि भने । उनले कांग्रेस संसदीय मर्यादामा बस्ने पार्टी भएकाले कसैलाई दुर्व्यवहार नगरेको बताए ।

सरकारकी प्रवक्ता रेखा शर्माले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सत्तापक्षको रोमा प्रवेश गरेपछि सांसदहरूबीच धकेलाधकेल भएको बताएकी छन् । उनले कांग्रेस गैरजिम्मेवार बनेको आरोप लगाइन् ।

‘आरोप लागेपछि बोल्न पाउनुपर्छ भन्ने हामी सबैको कुरा हो । बोलेर आफ्ना कुरा राख्न पाउनुपर्छ त्यहाँबाट समाधान निस्किन सक्छ भन्ने प्रतिपक्षसँग पनि त्यो कुरा भएको थियो तर, पछि उहाँहरूबीचमा के कुरा मिल्न सकेन,’ बैठकपछि उनले भनिन्, ‘गृहमन्त्रीलाई बोल्न दिएपछि प्रतिपक्ष सत्तापक्षको रोभित्र छिर्‍यो त्यसपछि थोरै नराम्रै शैली देखियो । सरकारको रोभित्र छिरिसकेपछि त्यो स्थिति भएको हो, त्यो राम्रो भएन, जिम्मेवार प्रतिपक्ष जिम्मेवार भएको देखिएन । उहाँहरू सत्तापक्षको रोमा पस्न मिल्छ रु’

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखको भूमिका गलत रहेको बताए । गणतन्त्र लोकतन्त्र सिद्ध्याउने खेल भइरहेको उनले बताए । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सांसद उपसभामुखको कुर्सीमा आएर बसेको बताए । ‘कांग्रेसले सदन अवरुद्ध गरेर महत्त्वपूर्ण समयलाई बन्धकी बनाइरहेको छ । आजको बैठकमा कांग्रेसले हौसिएर, मात्तिएर सरकारको लाइनमा आयो । जब सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिनुभयो, कांग्रेसका प्रमुख नेताहरू आएर सरकारको लाइनमा आएर अवरोध गर्ने, उपसभामुखको कुर्सीमा आएर बस्ने यसप्रकारको असंसदीय गैरराजनीतिक व्यवहार गर्नुभयो,’ बर्तौलाले भने ।

तर, कांग्रेस सांसद गुरुङले आफू उपसभामुख र एमाले अध्यक्ष केपी शर्माओलीको आसनको बीचमा गएर नारा लगाइरहेका बेला हस्तक्षेप भएको बताए ।

तपाइँको प्रतिक्रिया