शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २०:५३ |सिड्नीको समय: १८:५३ |काठमाडौंको समय: १४:३८

नेपालमा विदेशी पर्यटकले भित्र्याए ६० अर्ब ४५ करोड, नेपालीले पठाए १० खर्ब ८२ अर्ब

एएनजेड खबरमे १४, २०२४

काठमाडौं । नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार चालू आर्थिक वर्ष २०८०।८१ को चैतसम्म विदेशी पर्यटकले नेपालमा रु ६० अर्ब ४५ करोड बराबरको रकम भित्र्याएका छन्। यो गत वर्षको यही अवधिका तुलनामा ४० प्रतिशत धेरै हो।

पछिल्ला महीनामा विदेशी पर्यटकको नेपाल भित्रिने संख्या बढिरहेको छ। त्यसकै परिणाम भ्रमण आय भनिने घुम्न आउने विदेशीले नेपालमा भित्र्याउने रकम पनि बढेको हो।

यद्यपि नेपालको कुल वैदेशिक मुद्राको आम्दानीमा पर्यटनबाट हुने आम्दानी निकै थोरै छ। नेपालको विदेशी मुद्राको आम्दानीको मुख्य स्रोत वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिटेन्सको रकम हो।

यस वर्षको चैतसम्म विदेशमा रहेका नेपालीले १० खर्ब ८२ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स नेपाल पठाएका छन्। रेमिटेन्सबाट आएको आम्दानीसँग तुलना गर्दा पर्यटन बापतको आम्दानी ५.६ प्रतिशत मात्रै हो।

तर विदेशीले नेपाल घुम्न आउँदा जति खर्च गर्छन्, त्यसको दोब्बरभन्दा पनि धेरै विभिन्न कामकाजका लागि विदेश जाने नेपालीले लगिरहेका छन्। राष्ट्र ब्यांकका अनुसार चैतसम्म नेपालीले वैदेशिक भ्रमणका लागि एक खर्ब ४३ अर्ब रुपैयाँ विदेश लगेका छन्।

यो सबै घुमघामका लागि मात्रै भने होइन। यसमध्ये ९५ अर्ब ८५ करोड रुपैयाँ वैदेशिक अध्ययनमा गएका नेपालीले लगेको रकम हो। गत वर्षको तुलनामा यस वर्ष वैदेशिक भ्रमण बापतको खर्च ४२.५ प्रतिशतले बढेको छ।

यस वर्षको पहिलो नौ महीनामा नेपालले हवाईयात्राका लागि झन्डै ५४ अर्ब ५० करोड रुपैयाँ जति खर्च गरेको छ। नेपालीले विदेश यात्राका क्रममा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीको टिकटमा यो रकम खर्च गरेका हुन्।

तपाइँको प्रतिक्रिया