शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २०:५० |सिड्नीको समय: १८:५० |काठमाडौंको समय: १४:३५

कामिरिता शेर्पाले बनाए विश्व कीर्तिमान, पासाङ दावा दोस्रो स्थानमा

एएनजेड खबरमे १३, २०२४

काठमाडौं । आरोही कामिरिता शेर्पाले आइतबार बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका छन् । उनले वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोडेका हुन् ।

पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार कामिरिताले सगरमाथाको चुचुरोमा २९औँ पटक पाइला टेकेर विश्व कीर्तिमान बनाएका हुन् ।

उनका अनुसार यस यामको आरोहण सुरु भएयता आजसम्म ७० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् ।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामिरिता शेर्पा हुन । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गत शुक्रबारदेखि सुरु भएको थियो । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले शुक्रबार बेलुका सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’(डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।

तपाइँको प्रतिक्रिया