शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २३:५८ |सिड्नीको समय: २१:५८ |काठमाडौंको समय: १७:४३

श्रमिकको समस्या समाधानका लागि तयार श्रमाधान योजनामा के के पर्छन ?

एएनजेड खबरमे १, २०२४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारीसँग सम्बन्धित ‘श्रमाधान योजना’ घोषणा गरेको छ । बुधबार अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मन्त्रालयले श्रमाधान योजना घोषणा गरेको हो ।

मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच श्रमाधान योजनाको घोषणा गर्दे श्रममन्त्री डोलप्रसाद आयलले श्रमाधान योजनाले नेपाल र विदेशमा रहेको नेपाली श्रमिकको सबै खालको समस्या एकद्धारा प्रणालीबाट समाधान गर्ने बताए । ‘मन्त्रालयले अहिले पनि कल सेन्टर सञ्चालन गरेको छ । तर, यसको काम सिमित भयो । त्यसैले वृहत रुपमा श्रमिकको समस्या समाधान देखि जिज्ञासा, सुझाव तथा गुनासोलाई सम्बोधन गर्ने गरी यो योजना सञ्चालन गरिएको हो,’ उनले भने ।

श्रमाधानको पहिलो चरणमा सातवटा क्षेत्रहरुसँग सम्बन्धित कार्यक्रमहरु समावेश गरिएका छन् । इन्द्रेणीका सात रगंहरुसँग मेल खाने गरी प्रत्येक कार्यक्रमहरुलाई एक विशेष रगंसँग जोडिएको छ । जसले प्रत्येक कार्यक्रमको उद्धेश्य र महत्वलई प्रतिविम्बित पनि गर्छ ।

श्रमाधान योजनाको पहिलो ‘सेकेन्ड इनिङग’ कार्यक्रम रहेको छ । जसले काममा सक्रिय रहने उमेर कटेपछि वा अवकास भएपछि आफूसंग रहेको सीप कसरी प्रयोग गर्ने भन्ने बिषयमा काम गर्ने मन्त्री अर्यालले बताए । दोस्रोमा ‘रोजगार बैंक’ रहेको छ । यसले रोजगार दाता र रोजगारी खोज्ने बीच समन्वय गर्नेछ । तेस्रोमा रहेको ‘समता’ कार्यक्रमले समानतको प्रत्याभूत गर्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए । जसमा विशेष समुदायलाई प्राथमिकता दिइने छ ।

चौथोमा ‘ल’ कार्यक्रम छ । यस कार्यक्रम मार्फत श्रमिकलाई कानुनी रूपमा सक्षम बनाउने उद्देश्य मन्त्रालयले राखेको छ । श्रम सम्बन्धी कानुन सबैले जानुन भन्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए । अर्को ‘कनेक्ट’ कार्यक्रम रहेको छ । विश्व बजारको श्रमसँग नेपालको श्रमिक लाई प्रतिस्पर्धी बनाउने यसको उद्देश्य रहेको छ । अर्को ‘साथ’ कार्यक्रम रहेको छ । यसले विश्व बजारमा रहेका श्रमिकको साथमा नेपाल सरकार, मिडिया, कर्मचारी रहेको आभास गराउने लक्ष्य राखेको छ । त्यस्तै, अर्को ‘कल सेन्टर’ कार्यक्रम छ । कल सेन्टरबाट समस्या, जिज्ञासा संकलन गरी सम्बन्धित निकायमा पुराएर समाधान गरिने मन्त्रालयले जनाएको छ ।

श्रमाधान योजना भित्रका सात कार्यक्रमलाई क्रमिक रुपमा सञ्चालनमा ल्याईनेछ । पहिलो चरणमा श्रमाधान कल सेन्टर सञ्चालन गरिने श्रममन्त्री डोल प्रसाद अर्यालले बताए ।

तपाइँको प्रतिक्रिया