शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०९:३० |सिड्नीको समय: ०७:३० |काठमाडौंको समय: ०३:१५

१ अर्ब ४५ करोडमा निर्माण भयो ‘दमक भ्यू टावर’

एएनजेड खबरमार्च ३०, २०२४

झापा । झापाको दमक नगरपालिका ३ ढुकुरपानीमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ‘दमक भ्यू टावर’ निर्माणको काम सम्पन्न भएको छ।

नेपालकै सबैभन्दा अग्लो भ्यू टावरको रुपमा यो ठडिएको छ। करिब डेढ अर्ब लागतमा भ्यू टावर निर्माण सम्पन्न भएको हो। पहिला अनुमान गरिएभन्दा ५ प्रतिशत बढी रकम लागेको सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीका इन्जिनियर भुपेन्द्र यादवले बताए ।

यादवका अनुसार एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सुरुको सम्झौता रहेकोमा परियोजना सम्पन्न हुँदा ५ दशमलव ४ प्रतिशत लागत मूल्य बढेको छ। १ अर्ब ४५ करोडमा निर्माण सम्पन्न भएको उनको भनाइ छ।

०७६ साल असार २७ गते निर्माण सुरु भएर तीन वर्षभित्र सम्पन्न गर्ने भनिएता पनि कोभिड लगायतका कारणले निर्धारीत समयमा निर्माण सम्पन्न भएको थिएन। भ्यू टावरको पूरै भवनको संरचना एक सय मिटर अग्लो रहेको छ। यो अहिलेको भीमसेन धरहराभन्दा १६ मिटर अग्लो भएको बताइन्छ।

१८ तलाको क्रङ्क्रिट ढलान र त्यहाँभन्दा माथिको २८ मिटर अग्लो स्टिल टावर रहेको छ। यो सबै निर्माण काम सम्पन्न भएर उद्घाटन गर्ने अवस्थामा पुगेको जनाईएको छ। भ्यू टावर बनाउनका लागि स्थानीयवासीले जुटाएर पाँच बिघा जग्गा निशुल्क प्रदान गरेका थिए।

भ्यू टावरको भुइँतलामा ४० वटा चारचक्के र दुई सय वटा दुईचक्के सवारीसाधन अट्ने क्षमताको पार्किङस्थल रहेको छ।

तपाइँको प्रतिक्रिया