शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १८:३८ |सिड्नीको समय: १६:३८ |काठमाडौंको समय: १२:२३

प्रचण्डको नेतृत्वमा नयाँ समीकरणसहितको मन्त्रिपरिषद : को को भए मन्त्री ?

एएनजेड खबरमार्च ६, २०२४

काठमाडौं । नयाँ राजनीतिक समीकरणसहित बनेको नयाँ मन्त्रिपरिषदका सदस्यहरुको ढुंगो लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्ने नयाँ मन्त्रिपरिषदमा मन्त्रीहरूको शपथ गराउने तयारी भइरहेको छ ।

नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, ऊर्जामा शक्तिबहादुर बस्नेत, अर्थमा वर्षमान पुन र पर्यटनमा हितबहादुर तामाङको नाम टुङ्गो लागेको छ । मन्त्री भएका तामाङको शपथ भइसकेको छ ।

सोहीअनुसार सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा एमालेले आठ जना मन्त्रीको टुङ्गो लगाएको छ । मन्त्री बन्नेमा केही नयाँ बाहेक यसअघि छोटो समय मन्त्रीको जिम्मेवारी पाउनुभएका पुरानै अनुहार रहेका छन् ।

एमालेबाट रघुवीर महासेठको नेतृत्वमा पदम गिरी, बलराम अधिकारी, ज्वालाकुमारी साह, दामोदर भण्डारी, भगवती चौधरी, हरि उप्रेती र राजेन्द्र राई मन्त्री बन्नुहुने नेता दामोदर भण्डारीले जानकारी दिए । एमालेलाई एक जना राज्यमन्त्री पनि दिने सहमति बनेको उनको भनाइ छ ।

महासेठलाई उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिने टुङ्गो लागे पनि अन्य मन्त्रीहरूको मन्त्रालय टुङ्गो लागिनसकेको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्नो दलबाट मन्त्री हुने चार जनाको नाम टुङ्गो लगाएको छ । सो दलबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठलाई पठाउने निर्णय भएको सो दलका सहप्रवक्ता प्रतिभा रावलले बताए ।

एकीकृत समाजवादीबाट सरकारमा दुई जना मन्त्री सहभागी हुने भएका छन् । नेकपा एसबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका छन् । जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का निजी सचिवालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया