शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १८:४८ |सिड्नीको समय: १६:४८ |काठमाडौंको समय: १२:३३

चार राजनीतिक दलविच ८ बुँदे सहमति, मन्त्रालय बाँडफाँटको तयारी

एएनजेड खबरमार्च ५, २०२४

काठमाडौं । नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक दलहरुबीच ८ बुँदे लिखित सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले, माओवादी, रास्वपा र जसपाको बैठकबाट ८ बुँदे लिखित सहमति भएको हो ।

सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

दलहरुको सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने, सरकारको नेतृत्व प्रचण्डले नै गर्ने, रिक्त राष्ट्रिय सभाको अध्यक्षमा माओादी केन्द्रका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।

त्यस्तै सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने, त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने, नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससाग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुक्याउने सहमति भएको छ ।

राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न पनि चार दल सहमत भएका छन् ।

तपाइँको प्रतिक्रिया