शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २०:२४ |सिड्नीको समय: १८:२४ |काठमाडौंको समय: १४:०९

कांग्रेस अप्राकृतिक गठबन्धनको सरकारमा बसिरहन नहुने

एएनजेड खबरफ्रेब्रवरी १८, २०२४

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शुनिल शर्माले वर्तमान सरकारको जग अप्राकृतिक रहेको बताएका छन् । शनिबार पार्टीको महासमिति बैठकमा पेश गर्ने छुट्टै प्रस्ताव सार्वजनिक गरेका सांसद शर्माले आफ्नो प्रस्तावमा पार्टीले अप्राकृतिक गठबन्धनसँग सरकारमा बसिरहन नहुने उल्लेख गरेका छन् ।

कांग्रेसभन्दा भिन्न राजनीतिक,सामाजिक,आर्थिक व्यवस्था पक्षधर माओवादी, एकीकृत समाजवादी र अर्को क्षेत्रीय पार्टी जसपासँग सहकार्य अप्राकृतिक रहेको उनको भनाइ छ । मनै नमिल्ने पार्टीहरुसँगको गठबन्धनबाट बनेको सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको उनको दाबी छ ।

गृह प्रशासन चुस्त रहन नसकेको र सरकारले आर्थिक प्रशासनमा समेत आशा जगाउन नसकेको उनको आरोप छ । देशको अर्थतन्त्र ध्वस्त भइरहँदा आफ्नैपार्टीको नेतृत्वमा रहेको अर्थ मन्त्रालयको भूमिका शून्य रहेको भन्दै उनले आलोचना गरेका छन् । उदार अर्थनीति अपनाउने कांग्रेसले अर्थमन्त्रालय सञ्चालन गरिरहँदा नीजि क्षेत्र आतंकित र ध्वस्त रहेको उनको टिप्पणी छ । जसले गर्दा लगानीकर्ताहरुको मनोबल गिरेको र सबैतिर आर्थिक सूचकांक कमजोर बनेको उनको भनाइ छ ।

सरकार असफल हुनु र अर्थतन्त्रमा सुधार नहुनुको कारण अप्राकृतिक गठबन्धन रहेको उनको ठहर छ । सरकारमा कांग्रेस बसिरहँदा माओवादीको असक्षमताको भारी कांग्रेसले बोक्नुपरेको उनको भनाइ छ । तत्काल अप्राकृतिक गठबन्धनबाट अलग भई कांग्रेसले लोकतान्त्रिक शक्तिहरुलाई एकत्रित गरि आफ्नो नेतृत्वमा सुशासनमुखी, जनमुखी सरकार गठनका लागि पहल गर्नुपर्ने बताएका छन् ।

तपाइँको प्रतिक्रिया