शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २२:५९ |सिड्नीको समय: २०:५९ |काठमाडौंको समय: १६:४४

अष्ट्रेलियन प्रधानमन्त्रीको भ्यालेन्टाइन : पार्टनर हेडेनसँग गरे इन्गेजमेन्ट

एएनजेड खबरफ्रेब्रवरी १६, २०२४

एजेन्सी । एन्थोनी अल्बानिज अष्ट्रेलियाका ३१औं प्रधानमन्त्री हुन् । सन् २०१९ देखि लेबर नेताको रुपमा क्रियाशील उनले लिबरल पार्टीका स्कट मोरिसनलाई हराएर प्रधानमन्त्रीको कुर्सी सम्हालेका थिए । राजनीतिक रुपमा सफल देखिए पनि उनी आन्तरिक जीवन भने अस्तव्यस्त थियो । ’अल्बो’ नामबाट परिचित ६० वर्षीय अल्बानिजले सम्बन्ध विच्छेद गरेका थिए ।

एकल आमाको एक मात्र सन्तानका रुपमा सिड्नीको श्रमिक बस्तीमा हुर्किएका उनले हाल नयाँ जीवन शुरुवात गरेका छन् । भ्यालेन्टाइन डे को अवसर पारेर चार वर्ष पुरानो पार्टनर जोडी हेडेनसँग इन्गेजमेन्टको घोषणा गरेका उनले अब नयाँ जीवन सुरुवात गर्दैछन् । उनले क्यानबेरास्थित प्रधानमन्त्रीको आधिकारिक निवास द लजमा जोडीलाई आफूले डिजाइन गरेको विशेष औँठीका साथ प्रस्ताव गरेका थिए। योसँगै अल्बानिज पदमा रहँदा इन्गेजमेन्ट गर्ने पहिलो अष्ट्रेलियाली प्रधानमन्त्री समेत बनेका छन् ।

आफ्नो आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलमा इन्गेजमेन्टको खबर सेयर गरेपछि उनले नयाँ जीवनको सुरुवात गरेको जानकारी दिएका हुन् । इन्गेजमेन्टपछि संयुक्त विज्ञप्तिमा उनीहरुले भनेका छन्, ‘हामी तपाईंलाई यो समाचार सुनाउन पाउँदा खुसी छौँ । हामी हाम्रो बाँकी जीवन सँगै बिताउने निर्णय गरेका छौँ। हामी भाग्यमानी छौँ कि हामीले एकअर्कालाई भेट्यौँ।’

अल्बानिजले ४५ वर्षीय जोडी हेडेनलाई पहिलोपटक २०२० मा मेलबर्नमा एक व्यापारिक रात्रिभोजमा भेटेका थिए। एक छोराका पिता अल्बानिज अभियान ट्रेलमा सामेल भए र त्यही वर्ष उनी लेबर नेता बनेका थिए। सोही बर्ष उनले हेडेनसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै लगेका थिए ।

उनको इन्गेजमेन्टका विषयमा संसद्‌का आफ्ना सहकर्मीसहित न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन र चर्चित टीभी शेफ निगेला लसनले दुवै जनालाई बधाई दिएका छन्। विदेशमन्त्री पेनी वोङले लेखेकी छन्, ‘प्रेम एउटा सुन्दर चिज हो। म तपाईंहरू दुवैप्रति खुसी छु।’

यसअघि अल्बानीजले न्यू साउथ वेल्सका पूर्व उपप्रधानमन्त्री कार्मेल टेब्बटसँग विवाह गरेका थिए । विवाहको १९ वर्षपछि सन् २०१९ मा सम्बन्धविच्छेद भएको थियो । उनी सन् २००७ मा केभिन रडको सरकारमा पहिलो पटक मन्त्री बनको थिए भने सन् २०१९ को चुनावमा लेबर पार्टीको हारपछि उनी विपक्षी नेता बनेका थिए ।

तपाइँको प्रतिक्रिया