शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २२:४४ |सिड्नीको समय: २०:४४ |काठमाडौंको समय: १६:२९

एनआरएनए अष्ट्रेलियाले मन्त्री साउदलाई बुझायो ज्ञापन

एएनजेड खबरफ्रेब्रवरी १२, २०२४

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए) अष्ट्रेलियाले परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र बुझाएको छ । एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेलले मन्त्री साउद र आवसीय राजदूत कैलाशराज पोखरेललाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा विशेषगरी दूताबासले प्रदान गर्ने सेवाहरु प्रभावकारी बनाउन माग गरिएको छ । क्यानबेरास्थित नेपाली दूतावासले सीमित स्रोतसाधनमा प्रशंसनीय काम गरेको भएपनि कन्सुलर सेवाहरु प्रदान गर्न सकस परिरहेको अवस्थामा कन्सुलर र ग्राहक सेवालाई सम्बोधन गर्न दूतावासलाई थप स्रोतहरूको व्यवस्थापन गर्न माग गरिएको छ । क्यानबेराबाट टाढा रहेका नेपालीरुलाई राहदानी नवीकरणमा झेलिरहेको सास्ती सम्बोधन गर्न माग गरिएको छ ।

गैरआवासीय नेपाली नागरिकता प्रापकले अनेकौं समस्या झेल्नुपरेको, संविधानले दिएको अधिकार प्राप्त नभइसकेको, सम्पत्ती खरिद विक्री र भिसामा छुटको व्यवस्था मिलाउन सम्बन्धित मातहतका निकायलाई निर्देशन जारी गर्न आग्रह गरिएको छ । नीतिगत सुधारहरु गरेर नेपालमा लगानीको वातावरण निर्माण गर्न पनि आग्रह गरिएको छ ।

त्यस्तै नयाँ दिल्लीबाट नभइ नेपालस्थित अष्ट्रेलियाली दूताबासमार्फत नै भिसाका आवश्यक प्रक्रियाका कामहरुको बन्दोबस्त गर्न भनिएको छ । एनआरएनए अध्यक्ष पोखरेलले शिक्षा क्षेत्रमार्फत अष्ट्रेलियाको अर्थतन्त्रमा नेपालको विशेष भूमिका रहेको उल्लेख गर्दै नेपालको अर्थतन्त्रमा लगानी वा सहयोग प्रदान गर्न अष्ट्रेलिया सरकारसँग लबिङ गर्न आग्रह गरेका छन् । त्यस्तै उनले नेपाली विद्यार्थीहरुका लागि छात्रबृत्तिको आकार बढाउन अष्ट्रेलिया सरकारसँग कूटनीतिक पहल गर्न माग गरेका छन् ।

तपाइँको प्रतिक्रिया