बिहीबार, असोज ३, २०८१ |Thu Sep, 2024
अक्ल्याण्डको समय: १३:१७ |सिड्नीको समय: ११:१७ |काठमाडौंको समय: ०७:०२

मन्त्री साउदलाई जनसम्पर्क समिति वेष्टर्न अष्ट्रेलियाको भब्य सम्मान

एएनजेड खबरफ्रेब्रवरी ११, २०२४

काठमाडौं । अष्ट्रेलिया पर्थको भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदलाई जनसम्पर्क समिति वेष्टर्न अष्ट्रेलियाले भब्य सम्मान तथा स्वागत गरेको छ । सो अवसरमा जनसम्पर्क समितिले साउदलाई मायाको चिनो प्रदान गरेको थियो ।

कार्यक्रमका सभापति तथा जनसम्पर्क समिति वेष्टर्न अष्ट्रेलियाका सभापति राजेश बुढाथोकीले पर्थमा ३९ बर्षपछि नेपालका मन्त्रीलाई स्वागत तथा सम्मान गर्दै आफ्ना समस्याहरु सुनाउन पाउँदा खुशी लागेको बताए ।

उनले सबै संघसंस्था तथा अग्रजहरुको सल्लाहमा कार्यक्रम आयोजना गरिएको जानकारी दिदै परराष्ट्र मन्त्रीको पर्थ भ्रमणले नयाँ उर्जा थपेको बताए । ‘पर्थमा रहेका नेपालीहरुले झेलिरहेको समस्याहरुका बारेमा मन्त्रीज्यूलाई मौखिक रुपमै अवगत गराएका छौं । उहाँले सकरात्मक भूमिका निर्वाह गर्ने बचन दिनुभएको छ,’सभापति बुढाथोकीले भने ।

सो अवसरमा साउदलाई पासपोर्ट नविकरणमा झेल्नु परेको सास्ती हटाउनका लागि पर्थमा रहेका नेपालीहरुले आग्रह गरेका थिए । सातौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मन्त्री त्यहाँ पुगेका हुन् । मन्त्री साउद अष्ट्रेलियन राजदूताबास क्यानबेराको कार्यक्रम, समुदाय स्तरीय कार्यक्रम साथै न्यूजल्याण्डका मन्त्रीसँगको भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले आफ्नो १८ महिने कार्यकालमा धेरै समस्या समाधान भएको सुनाएका थिए । त्यस्तै मन्त्री साउदले नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया प्रमुख गन्तब्य बनिरहेको बताउँदै नेपाली डायस्पोराको साइज अष्ट्रेलियामा बढेकोमा नेपाल सरकारले प्राथमिकतामा राखेर हेर्ने बताए ।

मन्त्री साउदले विभिन्न देशमा रहेका नेपालीहरुले पासपोर्ट नविकरणमा झेल्नु परेको समस्या नजिकबाट जानकार भएको बताउँदै अवको केही महिनामा नै समस्या हल हुने प्रतिक्रिया दिए ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, परराष्ट्र मन्त्रालयकी सहसचिव रिता धिताल, एनआरएन एआइसीसी सल्लाहकार भैरव ढकाल, वेष्टर्न अष्ट्रेलिया एनआरएनए पर्थका सल्लाहकार कृष्णमान श्रेष्ठ, गैरआवासीय नेपाली संघ आइसीसी सदस्य दिनेश अधिकारी, एनआरएनए वेष्टर्न अष्ट्रेलियाका संयोजक शेखर घिमिरे, एनआरएनए पर्थका सचिब किशोर कुँवर, एनआरएनए पर्थका युवा संयोजक मनिश सिग्देल, प्रवासी नेपाली मञ्चका सचिव गोपाल घिमिरे,अग्रज यम केसी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया