शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०२:०४ |सिड्नीको समय: ००:०४ |काठमाडौंको समय: १९:४९

परराष्ट्रमन्त्री साउदले अस्ट्रेलियाको पर्थमा आयोजना हुने सम्मेलनलाई सम्बोधन गर्ने

एएनजेड खबरफ्रेब्रवरी ८, २०२४

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश(एनपी) साउदले अस्ट्रेलिया पर्थको एक बृहत सम्मेलनमा सम्बोधन गर्ने भएका छन् । अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्त रुपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनले यही माघ २७ गते ‘स्थिर र दिगो हिन्द महासागरतर्फ’ विषयमा हुन लागेको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । पर्थमा रहँदा उनले अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

मन्त्री साउदका साथमा उनकी धर्मपत्नी ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन् । नेपाली प्रतिनिधिमण्डलमा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल पनि सहभागी हुनेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उनी पर्थबाट न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय बैठकका लागि आगामी फागुन २ गते वेलिङ्टन जानेछन्। उक्त बैठकअघि दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीबीच दोस्रो परामर्श बैठक हुनेछ । मन्त्री साउद फागुन ३ गते स्वदेश फर्किनेछन् ।

तपाइँको प्रतिक्रिया